२१ आश्विन २०८३, बुधबार
Follow Us

नेपाल र युरोपबीच लगानी, प्रविधि तथा पर्यटन प्रवर्द्धन गर्न दुइ दिने सम्मेलन आयोजना गरिंदै

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०८३, बुधबार ०७:३७

बेल्जियम । नेपाली व्यवसायी संघ (नेवा) युरोपले आगामी नोभेम्बर २९ र ३० तारिख लक्जेम्बर्गमा दुइ दिने सेमिनार आयोजना गरी नेपाल र युरोपबीच लगानी, व्यवसाय, प्रविधि तथा पर्यटन क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार बनाउने लक्ष्य लिएको जनाएको छ।

सेमिनारका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली वस्तु तथा सेवाको युरोपेली बजारमा पहुँच विस्तार, युरोपियन मापदण्ड अनुसार उत्पादन तथा प्याकेजिङ, आयात निर्यात, संयुक्त लगानी तथा उद्यम विकास लगायतका विषयमा छलफल हुने जानकारी दिइएको थियो।

सेमिनारमा नेपालका प्रतिष्ठित उद्यमी तथा व्यवसायी, प्रविधि क्षेत्रका विज्ञ, युरोपमा रहेका नेपाली व्यवसायी तथा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा आबद्ध नेपाली विज्ञ र व्यवसायिक एक्सपर्टहरूको सहभागिता रहनेछ। साथै युरोपका विभिन्न देशमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहने आयोजकले जनाएका छन् ।

नेपालको पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्दै विश्व पर्यटन बजारमा नेपाली गन्तव्यको पहुँच विस्तार गर्ने विषयलाई पनि सेमिनारमा प्राथमिकताका साथ उठाइनेछ। स्वास्थ्य तथा आरोग्य, आध्यात्मिक, सांस्कृतिक तथा पर्यावरणीय अनुभवमा आधारित पर्यटनलाई युरोपेली बजारमा प्रवर्द्धन गर्ने विषयमा समेत छलफल गरिनेछ।

त्यस्तै नयाँ पुस्ताका नेपाली उद्यमी तथा पेशाकर्मीलाई जोड्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, स्टार्टअपलाई मार्गदर्शन उपलब्ध गराउने तथा नेपाल र युरोपका व्यवसायिक क्षेत्रबीच ज्ञान, सीप र प्रविधिको आदानप्रदान गर्ने विषयलाई समेत सेमिनारले समेट्नेछ।

आयोजक नेवा युरोपका अनुसार सेमिनारलाई केवल छलफल र भेटघाटमा सीमित नराखी त्यसबाट प्राप्त सुझाव तथा निष्कर्षलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। सेमिनारबाट प्राप्त सल्लाह, सुझाव र निष्कर्षका आधारमा प्रतिबद्धता पत्र तयार गरी त्यसलाई फलोअप गर्दै आगामी दिनमा नेपाल र युरोपबीच स्थायी किसिमको व्यवसायिक सहकार्य अघि बढाउने योजना रहेको छ।

नेपाल सरकार, युरोपमा रहेका नेपाली उद्यमी तथा व्यवसायी र युरोपेली उद्यमीहरूलाई एउटै नेटवर्कमा जोड्दै दुवै पक्षलाई फाइदा पुग्ने गरी लगानीको वातावरण निर्माण गर्ने तथा त्यसका लागि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने विश्वास आयोजक टीमले लिएकोछ ।

आयोजक संस्था नेवा युरोपका संयोजक यम निरौलाका अनुसार सेमिनारले नयाँ ब्यावसायिक सम्बन्ध निर्माण, आयात निर्यातकर्ता सम्पर्क, लगानी तथा परियोजनासम्बन्धी संवाद, संयुक्त उद्यमका अवसर, प्रविधि साझेदारी, पर्यटन सहकार्य तथा संस्थागत साझेदारीका लागि एउटा महत्वपूर्ण पुलको काम गर्नेछ। गत २६ अगष्टको विध्वंशकारी बाढी पछि केही क्षेत्रबाट नेपाल पर्यटन र लगानीका लागि असुरक्षित छ कि भन्ने आशंका व्यक्त गरिएको बेला नेपाल खुला छ र विदेशी लगानी स्वागत गर्न तत्पर छ भन्ने संदेश दिन दुइ दिने कार्यक्रम आयोजना गरिएको निरौलाले जनाए।

सम्मेलनमा अर्थ र उद्योग सम्बन्धि नेपाल सरकारका मन्त्री, सचिवलगायत विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहनेछ । सरकार, निजी क्षेत्र, प्रविधि विज्ञ, उद्यमी तथा डायस्पोराबीच प्रत्यक्ष संवादले नेपालमा लगानी तथा व्यवसायिक वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाली व्यवसायी संघ लक्जेम्बर्गका अध्यक्ष तथा सम्मेलनका संयोजक हरि खत्रीले सेमिनारको व्यवस्थापनसम्बन्धी जानकारी दिए ।

त्यसैगरी कार्यक्रमको प्रचारप्रसार तथा तयारीका विषयमा नेपाली व्यवसायी संघ बेल्जियमका निवर्तमान अध्यक्ष चिरन कुमार खवासले जानकारी गराए भने नेबा बेल्जियम अध्यक्ष काशी दनै लगायत अन्य देशका प्रतिनिधिहरुले आआफ्नो देशको व्यावसायिक गतिविधि र सेमिनारमा सहभागिता बारे जानकारी गराए ।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघका अभियन्ताहरू सन्तोष भट्टराई तथा गंगाधर गौतम लगायतले सम्मेलन नेपाल र युरोपबीच व्यापार तथा लगानी अभिवृद्धि गर्न सफल हुने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन गर्दै नेपाली व्यवसायी संघ (नेवा) युरोपका सचिव मदन दवाडीले सम्मेलनको उद्देश्य र हाल सम्मको तयारीबारे जानकारी दिए ।

नेबाले आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गमा हुने सेमिनारले नेपाल र युरोपबीचको व्यवसायिक सम्बन्धलाई थप संस्थागत गर्दै लगानी, प्रविधि, पर्यटन र उद्यमशीलताको क्षेत्रमा दीर्घकालीन सहकार्यको नयाँ आधार तयार हुने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको