२२ आश्विन २०८३, बिहीबार
Follow Us

बेलायतको ‘सुम्निमा साङ्गीतिक साँझ २०२६’ स्थगित, गायिका मेलिना राईलाई पितृशोक

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०८३, बिहीबार १४:५४

लन्डन । बेलायतको अल्डरशटस्थित एम्पायर हलमा अक्टोबर ९ (असोज २४) गते आयोजना हुने तय भएको ‘सुम्निमा साङ्गीतिक साँझ २०२६’ स्थगित गरिएको छ।

कार्यक्रमकी प्रमुख कलाकार तथा चर्चित गायिका मेलिना राई र जुनु राईका पूज्य पिता, गायक, संगीतकार तथा संगीत गुरु जिबेस राईको असामयिक निधन भएपछि कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ।

सुम्निमा इभेन्ट्स, लुंग्टो क्रिएसन र इनास यूकेको संयुक्त आयोजनामा भोटेकोशी बाढीपीडितको सहयोगार्थ उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको थियो।

कार्यक्रममा मेलिना राईसँगै प्रताप दास, सुशिल नेपाल, सबिना योङ्हाङ लिम्बू, रोशन राई, अप्सरा घिमिरे, जानुका राई र पार्वती राई लगायतका कलाकारहरूको प्रस्तुति रहने तय भएको थियो।

आयोजक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा गायिका मेलिना राईसहित शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। पारिवारिक शोक र भावनाको सम्मान गर्दै प्रमुख कलाकारकै अनुपस्थितिमा कार्यक्रम आयोजना गर्न उचित नहुने निष्कर्षसहित कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेकी मेलिना राईसहित सम्पूर्ण कलाकारहरूको सहभागितामा आगामी दिनमा कार्यक्रमलाई अझ भव्य र आत्मीय रूपमा पुनः आयोजना गर्ने आयोजकले प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको नयाँ मिति, समय र स्थान यथाशीघ्र सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

अत्यधिक दर्शक सहभागिताका साथ आयोजना हुने तयारीमा रहेको कार्यक्रम अचानक स्थगित हुन पुगेकामा दर्शक, प्रायोजक, सहकार्यकर्ता तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति आयोजक टिमले क्षमायाचना गरेको छ।

साथै, यस कठिन परिस्थितिमा विभिन्न क्षेत्रबाट प्राप्त माया, साथ, सहयोग र धैर्यताका लागि आयोजकले सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

— भुमिराज राई

धेरै पढिएको