काठमाडौं, मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा र अधिकारका सवाललाई सशक्त रूपमा उठाउने उद्देश्यसहित आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन सफल बनाउन क्षेत्रीय संयोजक रमेश श्रेष्ठ (आरसी श्रेष्ठ) ले सम्पूर्ण मध्यपूर्ववासी नेपालीलाई एकजुट भएर सहभागी हुन आह्वान गरेका छन् ।
आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनको तयारीका लागि नेपाल आएका श्रेष्ठ विभिन्न निकायसँग छलफल तथा परामर्श गरेर संयुक्त अरब इमिरेट्स (यूएई) फर्किएका छन् । नेपाल बसाइका क्रममा उनले सम्मेलनको तयारी, मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या तथा गैरआवासीय नेपालीका साझा सरोकारका विषयमा सम्बन्धित निकायसँग छलफल गरेका थिए ।
‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, श्रम सुरक्षा, अधिकार संरक्षण र सुरक्षित वैदेशिक रोजगारीका विषय प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधान, मर्यादित श्रम वातावरणको सुनिश्चितता र विदेशमा रहेका नेपालीको हित संरक्षणका लागि प्रभावकारी पहल आवश्यक छ । सम्मेलनले यी सवालमा साझा धारणा निर्माण गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।
संयोजक श्रेष्ठले सम्मेलनलाई औपचारिक जमघटमा सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीको साझा आवाज बुलन्द गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । उनले नेपाली समुदाय, एनआरएनएका अभियन्ता, सामाजिक संघसंस्था, व्यवसायी तथा श्रमिक प्रतिनिधिलाई सम्मेलन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।
‘सहयात्रा’ को मर्मलाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनले मध्यपूर्वमा रहेका नेपालीबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । श्रमिकका समस्या समाधानदेखि गैरआवासीय नेपालीका साझा सरोकारसम्मका विषयमा सामूहिक पहल अघि बढाउन सम्मेलन महत्त्वपूर्ण मञ्च बन्ने विश्वास आयोजकले लिएको छ ।
नेपालका विभिन्न निकायसँग छलफल गरेर यूएई फर्किएका श्रेष्ठले नेपाली श्रमिकको हकहित र सुरक्षित भविष्यका लागि साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै सबै मध्यपूर्ववासी नेपालीलाई सम्मेलनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।
एनआरएनए मध्यपूर्व क्षेत्रको आयोजनामा हुने सम्मेलन डिसेम्बर ११ र १२, २०२६ मा कतारको दोहामा आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन इच्छुक नेपालीलाई आयोजकले उपलब्ध गराएको अनलाइन फाराम भरेर आफ्नो विवरण दर्ता गर्न अनुरोध गरिएको छ ।
सम्मेलनमा सहभागिताका लागि इच्छुक नेपालीले https://docs.google.com/forms/d/e/1FAIpQLSf8TX69FG9gL_iRrbhBo46igwwiUWGPO4_iVdkkS2vUIjzCvg/viewform?usp=dialog लिंकमार्फत दर्ता गर्न सक्नेछन् ।
संयोजक श्रेष्ठले मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीलाई आपसी मतभिन्नताभन्दा माथि उठेर साझा हितका लागि एकजुट हुन र सम्मेलनलाई सफल बनाउन सहयोग गर्न पुनः आह्वान गरेका छन् ।