२० बैशाख २०८१, बिहीबार
Follow Us

चितवनको माडीमा जंगली हात्तिको हैरानी ःकिसानहरु दिक्क

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०३:४९

माडी । चितवन राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएको माडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बस्तीहरुमा जंगली हात्तीले स्याहार्ने बेला भएको धान खाएर नोक्सान गर्न थालेको छ । हात्तीले दुःख दिन सुरू गरेपछि स्थानीयले राम्रोसँग नपाके पनि धान काट्न थालेका छन् । साँझ पर्न थालेपछि जंगलबाट निस्केको हात्ती खेतमा पसेर धान खाने गर्छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार एउटा भाले हात्ती एक हप्तादेखि खेतहरुमा जान थालेको हो । ‘समूह नभएर एउटा भाले हात्ती गाउँ पसेर धान नोक्सान गरेको सूचना हामीलाई आएको छ । हामी घटनास्थलमा पुगेका छौँ । सावधानी अपनाउन अपिल गरेका छौँ । क्षतिको राहतका विषयमा पनि छलफल गरेका छौँ’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने ।
माडीका स्थानीय एकराज भण्डारी हात्ती आउन थालेपछि वरपरका स्थानीयले काँचै धान काट्न थालेको बताउँछन् । ‘निकुञ्जसँग जोडिएको दिवानगर घाँगरलगायतका क्षेत्रका किसानहरुले राम्रोसँग नपाके पनि हात्तीले नोक्सान गर्ने खतरा बढेपछि काँचै धान काटेर स्याहारेका छन्’ भण्डारीले भने । खेतमा नोक्सान गरी रहेको हात्ती बस्तीमा पस्ने पो हो कि भन्ने त्रास पनि छ ।
निकुञ्जले हात्तीलाई उत्तेजित हुने कुनै पनि काम नगर्न स्थानीयसँग अपिल गरेको छ । ‘हात्ती आयो भनेर हो हल्ला गर्ने, मेसो नमिलाई लखेट्ने काम गरेमा हात्ती उत्तेजित भएर धेरै दुःख दिन सक्छ । त्यसैले त्यस्तो खालका कुनै पनि काम नगर्न हामीले स्थानीयसँग अनुरोध गरेका छौँ’ निकुञ्जका सूचना अधिकारी अर्यालले भने । निकुञ्जको टोलीले बिहीबार हात्तीले नोक्सान गरेको ठाउँको अनुगमन गरेको थियो ।
हात्तीले ठाउँ–ठाउँमा गरेर धेरै नै धान खाएको उनले जानकारी दिए । मध्यवर्ती उपभोक्ता समितिले क्षतिको विवरण संकलन गर्दैछ । राहतको विषयमा निकुञ्जका अधिकारीहरुले स्थानीयलाई सहयोग गर्ने वचन दिएका छन् । बाली नोक्सान भएमा प्रति घरपरिवार १० हजार रुपैयाँसम्म राहत दिने सरकारी नीति छ । बढी क्षति भएको अवस्थामा यो रकम बढाउन आफूहरुले प्रयत्न गर्ने अधिकारीहरुले बताएका छन् ।
‘सरकारले बाली नोक्सानमा अधिकतम १० हजार रुपैयाँसम्म राहत दिन्छ । हामीले अन्य संघसंस्था वा मध्यवर्तीबाट त्योभन्दा पनि धेरै राहत दिने प्रबन्ध मिलाउँला भनेर गाउँलेहरुलाई भनेका छौँ’ सूचना अधिकारी अर्यालले जानकारी दिए । माडी क्षेत्र निकुञ्जबाट आएका जनावरहरुले धेरै नै दुःख दिने क्षेत्र हो । बर्सेनि यहाँ वन्यजन्तुका कारण धनजनको क्षति हुँदै आएको छ ।
त्यसैले सरकारी निकायहरु माडीको विषयमा संवेदनशील हुनुपर्ने स्थानीयहरुको माग छ । निकुञ्जले हात्ती निस्केको क्षेत्रमा गस्तीका लागि नेपाली सेनालाई खटाएको सूचना अधिकारी अर्यालले जानकारी दिए । सो टोलीले हात्ती बस्तीमा आउनबाट रोक्ने प्रयास गर्दै आएको छ । लखेट्न परेको अवस्थामा विधि पु¥याएर जंगलतर्फ फर्काउने गरेको छ ।
‘हात्ती देखेमा गाउँले आफैँले होहल्ला गरेर फर्काउनुभन्दा मध्यवर्ती समितिका मान्छेहरु, प्रहरी वा हाम्रो निकुञ्जको टोलीलाई भने सेनाले मेसो मिलाएर जंगलतिर फर्काउने व्यवस्था मिलाइने छ’ सूचना अधिकारी अर्यालले भने । जंगली हात्ती रिसाएमा गाउँमा आएर पटक–पटक दुःख दिने गर्छ । एकपटक माडीमा ध्रुवे नामको जंगली हात्तीले निकै नै सताएको थियो । त्यसले ठूलो धनजनको क्षति गरेको थियो ।

चितवन पोष्टबाट ।