२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कासमू किर्ते गरेको आरोपमा सिलवालबिरुद्ध पक्राउ पुर्जी जारी

sarusaru
१९ पुष २०७४, बुधबार ०३:१९

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ। प्रहरीका अनुसार आईजीपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआइजी जयबहादुर चन्दले सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए। ‘सिलवाललाई पक्राउ गर्न पुर्जी काटिएको अनौपचारिक खबर मैले पनि थाहा पाएँ। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान हुुनेछ,’ उनले भने। एआइजी चन्दले पक्राउ पुर्जी ललितपुर परिसर गएको जानकारी दिए।

‘सिलवाल ललितपुरमै बस्ने भएकाले पक्राउ पुर्जी ललितपुर परिसर गएको हुन सक्छ,’ उनले भने। पूर्वडीआइजी एवं सांसद नवराज सिलवाल पूर्वनिर्धारित कार्यक्रममा भाग लिन आइतबार नै मलेसियाको क्वालालम्पुर गएको पारिवारिक स्रोतको भनाइ छ। उनी ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन क्वालालम्पुर गएका हुन्।

कुनै पनि वेला पक्राउ पर्न सक्छन् प्रहरीका अनुसार सिलवाल जुनसुकै वेला पक्राउ पर्न सक्छन्। ‘प्रहरीले अनुसन्धान थालेको छ। यसक्रममा जोसुकैमाथि पनि अनुसन्धान हुन सक्छ। प्रहरीले बयान लिन सक्छ। यही क्रममा पक्राउ पुर्जी काटिएको हुन सक्छ। अनुसन्धान किर्ते कागजातमाथि हुँदै छ,’ एआइजी चन्दले भने। प्रहरी स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मी र आइजिपी प्रकाश अर्यालले सिलवालविरुद्ध पक्राउ पुर्जी काट्न प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सिंहदरबारमै बेलाएर निर्देशन दिएका थिए।

के हुन्छ सांसद पद?

कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन। यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ। अधिवक्ता डा‍. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए। ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ। यही आधारमा सिलवालको सांसद पद जाँदैन। अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने। अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ।