२५ बैशाख २०८१, मंगलवार
Follow Us

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायतको साहित्य गोष्ठी

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार ०२:३२

लण्डन । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायतको आयोजनामा शनिबार लण्डनमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वुलवीचस्थित वुलवीच लाइब्रेरीको सभाकक्षमा साहित्य गोष्ठी, कविता वाचन तथा सम्मान कार्यक्रम गरिएको हो ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पूर्व राजदूत प्रल्हाद प्रसाईं विशिष्ट अतिथी तथा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य विशेष अतिथी थिए । कार्यक्रममा दुई दर्जन बढि स्रष्टा तथा साहित्यप्रेमीको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदूत डा सुवेदीले प्रवासमा नेपाली भाषा, साहित्यको विकासमा प्रज्ञा प्रतिष्ठानले सकारात्मक भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथी पूर्व राजदूत प्रसाईंले बेलायतको भ्रमणका अवसरमा साहित्यिक कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गरे । विशेष अतिथी एनआरएन आइसिसी उपाध्यक्ष आचार्यले एनआरएनले पनि प्रवासका नेपालीहरुमाझ नेपाली भाषा, साहित्यको प्रबद्र्धन गर्ने प्रयत्न गरिरहेको बताए ।

प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष खगेन्द्र पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लय प्रसाईंले स्वागत मन्तव्य दिएका थिए भने महासचिव मञ्जु खरेल भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । शाखाले आयोजना गरेको यो पहिलो औपचारिक कार्यक्रम हो ।

त्यसअवसरमा फडिन्द्र भट्टराई, वासु शर्मा, कमला अर्याल, दिनेश पौड्याल, विजय हितान लगायतका स्रष्टाहरुले आआफ्ना कविता वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममै प्रतिष्ठान बेलायत शाखा अध्यक्ष पाठक, एनआरएन आइसिसी उपाध्यक्ष आचार्य, प्लमस्टिडस्थित पशुपति मन्दिर व्यवस्थापन समिति अध्यक्ष सहदेव गिरी र पण्डित निलहरि घिमिरेले बेलायतमा नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी र विशेष अतिथीलाई आयोजकका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।