२३ बैशाख २०८१, आईतवार
Follow Us

अस्पतालको लापारबाही यतिसम्म बायाँ खुट्टाको सट्टा दायाँ खुट्टा चिरियो

sarusaru
१३ फाल्गुन २०७४, आईतवार ०१:५३

काठमाडौँ । थापाथलिस्थित नर्भिक अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको पाइएको छ। अस्पतालले देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने एक बिरामीको दाहिने खुट्टा चिरिदिएको छ । स्कुटी थन्काउँदा चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण शुक्रबार अस्पताल भर्ना भएकी बिन्दु पौडेलको उपचारमा अस्पतालले लापरबाही गरेको हो ।

चितवनकी ३८ वर्षीया पौडेलको उपचारका अस्पतालकै डा प्रवीण नेपाल र शैलेज रञ्जितकार संलग्न थिए । ‘खुट्टा सामान्य दुखेको थियो, उनी हिँडेरै अस्पताल आएकी थिइन्, डाक्टरले शल्यक्रिया गर्नैपर्छ भने’ बिरामीका श्रीमान् किशोर पौडेलले भने ।

चार घण्टा लगाएर गरिएको शल्यक्रियापश्चात् निकैबेर डाक्टर टिमले बिरामी भेट्न नदिएको उनका आफन्तले सुनाए । ‘ म अपरेशन थिएटरको ढोकामै थिएँ, भित्रबाट बुहारीले आफन्त बोलाइदिनु भन्दै रोएको सुनेपछि म जबरजस्ती भित्र पसेँ ’ आफन्त सम्झना पौडेलले भनिन् । भित्र छिर्दा दाहिने खुट्टा शल्यक्रिया भएको देखिएको उनले बताइन् ।

शल्यक्रियाका कारण हुने घाउ दाहिनेमा देखिरहँदा पनि डाक्टर टिमले गल्ती स्वीकारेको थिएन ।‘ समस्या दाहिने घुँडामा नै रहेछ भन्दै हामीलाई झुटो बोलिरहे, कानुनी प्रक्रियामा जान्छौं भनेपछि मात्रै साँचो कुरा बताए’ श्रीमान् पौडेलले भने । शनिबार दिनभरि अस्पताल तनावमय रह्यो । अस्पताल प्रशासन र बिरामी पक्षबीच वार्ता चल्यो । वार्तापछि अस्पतालले उपचारका क्रममा भएको आफ्नो गल्ती स्वीकारेको छ । ’डाक्टर टिमकै गल्ती देखियो, गल्ती जानाजान भएको होइन, भुलबस् भयो ।’ अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंहले भने ।

डा।नेपाल, रञ्जितकारले पनि उपचारका क्रममा आफूबाट अन्जानबस् गल्ती भएको स्वीकार गरेका छन् । ‘हामीले खुट्टाको एमआरआई गरेका थिएनौं, हेर्दाखेरी दाहिनेमा बढी समस्या जस्तो देखेर त्यही खुट्टा चिरेका हौँ’ उनीहरूले भने । बिरामी पक्षले अस्पताललाई आफ्नो गल्ती स्वीकारेर सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् । ‘कानुनी प्रक्रियामा जाँदैनौं, अस्पताललले माफी मागोस्, अरू बिरामीमाथि यस्तो लापरबाही नगरियोस्’ बिरामीका श्रीमान् पौडेलले भने ।

बिरामी पौडेलको उपचारमा ५० हजार रुपैयाँ खर्च लागेको थियो । क्षतिपूर्ति स्वरूप उपचार खर्च फिर्ता गर्ने र अर्को खुट्टाको शल्यक्रिया निस्शुल्क गर्ने अस्पताल प्रशासन र बिरामीपक्षबीच लिखित सहमति भएको अस्पतालले जनाएको छ
– कान्तिपुरबाट ।