१८ बैशाख २०८१, मंगलवार
Follow Us

रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७४, सोमबार १४:३१

काठमाडौं । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीले आदेश दिएको छ । टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो । बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए ।
चौधरीले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका थिए । तर, न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने बताएको छ ।
आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फैजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’ चौधरीले अभियोग इन्कार गरेपनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले अदालतमै रेशम चौधरीको नेतृत्व र योजनामा घटना भएको हो भनेर बयान दिएको भन्दै अदालतले प्रतिवादी कसुरदार छैनन् भन्न नसकिने बताएको छ ।