म्याड्रिड । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको इतिहासमै सुन्दर गोल गर्दै टोलीलाई जिताउनु भएको छ । च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलको पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा स्पेनी क्लब रियाल मड्रिडले इटालीको क्लब युभेन्टसलाई ३–० ले हराएको हो ।
सन् २०१७ को फाइनलमा भेट भएको युभेन्टसलाई हराउने क्रममा रियालका लागि रोनाल्डोले दुई तथा मार्सेलोले एक गोल गर्नु भयो । रोनाल्डोले तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाउनु भयो । रोनाल्डोले क्लब र राष्ट्रिय टिमबाट गरी पछिल्ला १३ खेलमा २५ गोल गरिसक्नु भएको छ ।