ठिमी । भक्तपुरको मध्यपुरठिमी बासिन्दाले आज ३२ खट सहितको सिन्दुर जात्रा मनाउँदैछन । बिस्केट जात्राको अवसरमा मध्यपुरठिमीमा २६ वटा खट सहितको सिन्दुर जात्रा मनाउन लागिएको हो । सिन्दुर जात्रा मध्यपुरठिमीमा मात्र मनाइने गरिन्छ ।
जात्राका क्रममा बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिन्छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि हातहातमा चिराग लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरेजात्रा मनाउने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाउँदै देवताका खटलाई घुमाउने, एक आपसमा सिन्दुर दली स्थानीयहरुले रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।
यसैबीच, भक्तपुरको मध्यपुरठिमीस्थित बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै छ । जात्रामा यसवर्ष स्थानीय ४६ बर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडाउँदै छन् । बुद्धकृष्णले यसवर्ष छैठौ पटक जिब्रो छेड्न लागेका हुन । मध्यपुर ठिमी नगरपालिका–२ गणेश मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एकफिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।
बोडेमा वैशाख १ गते बेलुकादेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुन्जेलसम्म निराहर बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपंक्षी र महिलालाई छुन नहुने परम्परा छ ।