काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । परराष्ट्र र श्रम तथा रोजगार मन्त्री तथा मातहतका सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्रीले तत्काल कार्ययोजना बुझाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले नेपालीले दुःख पाउने, उनीहरुको जीवनरक्षा नहुने र ठगीमा पर्ने अवस्था अन्त्यका लागि प्रभावकारी कार्ययोजना ल्याउन निर्देशन दिए ।
मलेसिया र खाडीका विभिन्न देशमा सयौं नेपाली कारागारमा रहेका, तीमध्ये केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको तथा केही कामदार ‘ब्लड मनी’ तिर्न नसक्दा आजीवन काराबास बस्न बाध्य भएको जनाउँदै प्रधानमन्त्रीले उनीहरुको उद्धारमा लाग्न आग्रह गरे । नेपालीलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन सरकारले विशेष ध्यान दिएको र केही महत्वपूर्ण कार्ययोजना ल्याउनेसमेत प्रधानमन्त्रीले जानकारी गराए ।