१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प छैन

sarusaru
४ आश्विन २०७५, बिहीबार ०२:३७

पर्सा – संविधानमा सबैको भावनालाई समेट्न सके मुलुक अझै बलियो हुने बताइएको छ ।

सानो पाइलाले बुधबार वीरगञ्जमा आयोजना गरेको ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले अधिकारका विषयमा देखापरेका असन्तुष्टिलाई संविधान संशोधनबाट जति छिटो सम्बोधन गर्न सके त्यति नै चाँडो मुलुक समृद्धिको पथमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेशीलाई अधिकारबाट वञ्चित र उपेक्षित गरी राष्ट्र निर्माण हुन नसकिने बताउनुभयो ।

‘अन्तरिम संविधानले प्रदान गरेको अधिकार समेतलाई कुण्ठित गरी आएको संविधान’ मधेशीलाई मान्य हँदैन्, उहाँले भन्नुभयो, “मधेशी जनताको अधिकारलाई संविधान संशोधनमार्फत समावेश गर्नु आवश्यक छ ।”

नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले संविधानसभाबाट संविधान निर्माण गरी सबैलाई अधिकार सम्पन्न र मुलुकलाई समृद्ध बनाउने गरिएको अपेक्षा पूरा हुन नसकेको बताउँदै मधेशी, आदिवासी, जनजाति, मुसलमान, महिलालगायत सबैको अधिकारलाई सम्बोधन हुने गरी सर्वस्वीकार्य संविधान बनाउन संशोधनको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो ।

अधिकारकर्मी डा सुन्दरमणि दीक्षित, खगेन्द्र सङ्ग्रौला, राजपाका नेता एवम् प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका नेता एव्म प्रतिनिधिसभा सदस्य प्रदीप यादव, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया, लेखक सिके लाल लगायतले सर्वस्वीकार्य संविधानको धरातलमा नै विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
रासस