१५ बैशाख २०८१, शनिबार
Follow Us

राजधानीमै बालकको अपहरणपछि हत्या

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ०४:४६

काठमाडौं । गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो ।

उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र एसके छन् । उनी होटल सञ्चालकका ड्राइभर हुन् । एक महिनाअघिबाट मात्रै उनी प्रवीणको होटलमा काम गर्न थालेका थिए ।

बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेका थिएनन् । प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको ऐसकेले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने विषय निक्र्यौल भइसकेको छैन । थप अनुसन्धान जारी छ । प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए ।

यसअघि २१ साउनमा काठमाडौंको काँडाघारीमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । जसमा संलग्न दुई जना प्रहरी इन्काउन्टरमा मारिएका थिए ।