२८ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्व शान्तिका लागि साझा प्रयत्नमा जोड

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०७५, शनिबार ०९:११

काठमाडौं । विश्व शान्तिका लागि गरीबी, भोकमरी तथा अशिक्षाको अन्त्य हुनुपर्नेमा विभिन्न देशका नेताले जोड दिनुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँहरुले नागरिकको आकाङ्क्षा र बदलिँदो विश्व परिवेशलाई समेत आत्मसात् गरेर समान धारणा र कार्यक्रमका साथ अगाडि बढे विश्वका साझा समस्याबाट मुक्त पाउन सकिने बताउनुभयो । पछिल्लो दिनमा जलवायु परिवर्तन, आतङ्कवाद, मानव तस्करी पनि विकराल समस्याका रुपमा देखा परेको छ भन्दै उहाँहरुले एकल प्रयत्नबाट मात्रै ती समस्याको निरुपण नहुने भएकाले एकार्का देशबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदोले विश्व शान्तिका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकार्य नै शान्ति र विकासको प्रमुख कार्यसूची हुन सक्छ । हामीले विगतदेखि नै यसलाई नै जोड दिँदै आएका छौँ ।”

गरीबी, अशिक्षा, आतङ्कवाद विश्वका साझा समस्या रहेको छ भन्दै उहाँले ती समस्याविरुद्ध लड्न विश्वासिलो साझेदारी, समान अस्तित्व र दृढताको जरुरी पर्ने उल्लेख गर्नुभयो । उहाँले सामाजिक दुश्चक्रका रुपमा रहेको भ्रष्टाचारको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकका स्वतन्त्रता, साधनस्रोतको समुचित वितरण तथा आत्मसम्मानलाई समेत विशेष ख्याल गरिए शान्तिको खोजी धेरै जटिल नभएको उपराष्ट्रपति रोब्रेदोको भनाइ थियो ।

समोआका राष्ट्रप्रमुख अफिओगा टुइमालिआलिफानो भालेतोआ सुआलौभी द्वितीयले विश्व शान्तिका लागि सामूहिक प्रयत्न जरुरी औँल्याउनुभयो । उहाँले मानवीयता, सहअस्तित्व र आपसी हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्नेमा विश्व समुदायलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तन पनि पछिल्लो दिनमा विकराल समस्याका रुपमा देखा परेको छ भन्दै उहाँले त्यसविरुद्ध जुध्न जरुरी भइसकेको बताउनुभयो ।

तुभालुका राज्य प्रमुख लाकोबा ताइया इतालेनीले बन्दूक र सैनिक माध्यमबाट मात्रै जनतालाई सुरक्षित गर्न नसकिने बताउनुभयो । गरीबी, भोक तथा रोग नियन्त्रण गर्नुपर्ने र सुरक्षाका विषयलाई समेत प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले स्रोतलाई वर्तमान तथा भविष्यको पुस्ताका लागि सुरक्षित गर्नुपर्ने औँल्याउनुभयो ।

वातावरण, अर्थतन्त्र, पर्यावरणको सुरक्षाका लागि राजनीतिक र आस्थाका नेताले मिलेर काम गर्नुपर्ने स्पष्ट पार्दै उहाँले युवालाई शिक्षा दिएर सही सङ्क्रमणको मार्गमा अगाडि बढाउन एकीकृत प्रयास गर्नुपर्ने बताउनुभयो ।