२२ बैशाख २०८१, शनिबार
Follow Us

शून्य डिग्रीमा जलवायु सम्मेलन

sarusaru
१७ पुष २०७५, मंगलवार ०१:४३

मध्य पुसको जाडो । सबेरैको तापक्रम शून्य डिग्री सेल्सियस । मेलम्ची नगर र इन्द्रावती गाउँपालिकाको दोसाँध समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको गुफाडाँडा ।

शून्य डिग्री सेल्सियस तापक्रममा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असर र न्यूनीकरणका उपायबारे दुई दर्जनभन्दा बढी विषयविज्ञले कार्यपत्र पेस गर्नेछन्् । जलवायु परिवर्तनको असर प्रत्यक्ष अनुभूत गर्दै देशभरिका जनप्रतिनिधिले ती कार्यपत्रमा बहस गर्नेछन् । सोमबार देशभरका जनप्रतिनिधिसँगै स्थानीय बासिन्दाको पनि घुइँचो लाग्यो, गुफाडाँडामा ।

दोर्जी लाक्पा हिमशृंखलाको सन्मुखमा रहेको यो स्थानमा लामाहरूले ध्यान गर्न गुफा बसेकाले कालान्तरमा गुफाडाँडा नाम रहेको स्थानीय बासिन्दाले बताए । केही वर्षयता पुसमा हिउँ परेको छैन यहाँ । नजिकै रहेको दोर्जी लाक्पा हिमशृंखलामा पनि हिउँ पात्लिएको छ । जलवायु परिवर्तनको असरले हिमशृंखला पनि कालोपत्थरजस्तै देखिन्छ । यस्तो दृश्य हेर्दै जलवायुको असरबारे छलफल गर्न ७७ वटै जिल्ला समन्वय समितिका संयोजक र उपसंयोजक गुफाडाँडा पुगेका हुन् ।

ठूलो चउरमा सम्मेलनस्थल बनाइएको छ । सम्मेलनस्थल नजिकै उकालो बाटामा सबै जिल्लाका लागि एक÷एक राष्ट्रिय झन्डा गाडिएका छन् । सोमबार मध्याह्न १२ बजे यही सम्मेलनस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको संकेत गर्ने पृथ्वीको प्रतिमा अनावरण गरिन् । लगत्तै छेवैमा रहेको राष्ट्रिय झन्डा फहराइन् । राष्ट्रपति भण्डारीसँगै ७७ वटै जिल्लाका संयोजकले पनि राष्ट्रिय झन्डा फहराएर सम्मेलन उद्घाटनको सन्देश दिए ।

राष्ट्रपति भण्डारीसहित वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल र वनमन्त्री अरुण नेपालले सम्मेलन सफलताको शुभकामना दिए ।

जिल्ला समन्वय समिति महासंघ नेपालले आयोजना गरेको सम्मेलन तीन दिनसम्म चल्नेछ । यसमा जलवायु परिवर्तन, यसको असर र अनुकूलनसम्बन्धी छलफल गरी सिन्धुपाल्चोक घोषणापत्र जारी गरिने महासंघ अध्यक्ष सीता सुन्दासले बताइन् ।

धर्ती संरक्षण साझा दायित्व : राष्ट्रपति
सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु मानवीय दायित्व भएको बताइन् । जलवायु परिवर्तनसम्बन्धी भर्खरै पोल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनको स्मरण गर्दै राष्ट्रपति भण्डारीले जैविक विविधता, वातावरणमा पार्ने प्रभाव र न्यूनीकरणका पक्षमा भएको गुफाडाँडाको सम्मेलन पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । ‘प्राकृतिक वैभवले सम्पन्न हाम्रो राष्ट्रमा भावी पुस्ताले समस्या झेल्नुनपरोस् भन्नेतर्फ सचेत रहँदै भौतिक पूर्वाधारको काम गर्दा विचार पु-याउनुपर्छ,’ उनले भनिन् ।

पूर्वाधार विकासको कामलाई कम जोखिमयुक्त बनाउनु र बढ्दो प्राकृतिक दोहन रोक्न विद्यालय र कलेजका पाठ्यक्रममा जलवायु र प्रभावसम्बन्धी विषय राख्नुपर्ने राष्ट्रपतिको भनाइ थियो । जलवायु परिवर्तनले किसान, महिला र ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएको उनले बताइन् । ‘धर्तीको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । जलवायु परिवर्तनको असर र अनुकूलनप्रति हामी जति जिम्मेवार हुन्छौँ, त्यति नै धर्ती संरक्षणमा हाम्रो योगदान रहनेछ,’ राष्ट्रपति भण्डारीले भनिन् ।
नयाँपत्रिका