३० बैशाख २०८१, आईतवार
Follow Us

भारत–पाकिस्तान तनाव बढ्यो

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७३, शुक्रबार ०६:४३

काठमाडौं । भारतले काश्मीरस्थित पाकिस्तानी सीमाक्षेत्र (लाइन अफ कन्ट्रोल) मा बिहीबार ‘सर्जिकल आक्रमण’ गरेपछि दक्षिण एसियाली दुई आणविक शक्तिबीच तनाव बढेको छ । तनावसँगै दुई देशबीच युद्धको छनक देखिन थालेको छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले टविट गरेका छन्, ‘पाकिस्तान आतंकवादी मुलुक हो, यसलाई त्यही रूपमा लिएर एक्ल्याउनुपर्छ ।’ उता पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार सर्ताज अजिजले विज्ञप्ति निकाल्दै आफ्ना नागरिकलाई भनेका छन्, ‘मोदी सरकारका वरिष्ठ अधिकारीहरूका आधारहीन एवं गैरजिम्मेवार आरोपको प्रतिवाद गरौं ।’
गत सेप्टेम्वर १८ मा उरी आर्मी बेसक्याम्पमा भएको हमलाको जवाफका रूपमा भारतले बिहीबार पाकिस्तानी सैनिकमाथि आक्रमण गरेको हो । आक्रमणमा कति क्षति भयो भन्ने प्रस्ट जानकारी दुवैतर्फबाट दिइएको छैन । भारतीय सञ्चार माध्यमले रातभर भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको दाबी गरेका छन् । पाकिस्तानले भने आफ्ना दुई सैनिकको मृत्यु भएको र ९ जना घाइते भएको बताएको छ । पाकिस्तानले यो ‘सर्जिकल आक्रमण’ नभई सीमाक्षेत्रमा भारतले फायरिङ गरेको दाबी गरेको छ ।

आक्रमणबारे भारतीय सेनाका लेफटिनेन्ट जनरल रनवीर सिंहले बिहीबार मध्याह्न भारतीय विदेश मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । उनले आक्रमणको उद्देश्य आतंककारीको योजना र घुसपैठलाई नियन्त्रण गर्नु रहेको जानकारी गराएका थिए । उनले आक्रमणले आतंकारीलाई निस्तेज गरेको जनाउँदै यस्तो प्रकारको ‘अपरेसन’ लाई निरन्तरता दिने योजना नरहेको बताए ।