३ बैशाख २०८३, बिहीबार
Follow Us

असिनाले बाली सखाप

nepalbritain news
२४ चैत्र २०७५, आईतवार ०३:४९

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिकाका विभिन्न गाउँमा असिना पानीका कारण बालीनाली नष्ट भएको छ।

शुक्रबार साँझ परेको असिना पानीले काठेखोला गाउँपालिका-३ धम्जा, ४ तंग्राम, ५ र ६ बिहुँमा गहुँ, जौ सखाप भएको हो। काट्न ठिक्क भएको गहुँबाली असिनाले नष्ट गरेपछि किसान चिन्तित भएका छन्।

धम्जाको साविकको १ ओखले र २ असौजेमा भर्खर उम्रेका आलुका बेर्नामा पूर्ण क्षति पुगेको छ। यो क्षेत्र आलु खेतीका लागि निकै उर्वर मानिन्छ।

ओखले र असौजेमा दुई सय भन्दा बढी घरधुरीले प्रति घर २० मुरी भन्दा बढी आलु बर्षेनी उत्पादन र बिक्री गर्दै आएका छन्। आलुको बेमौसमी बिक्रीका लागि यस वर्ष काठेखोला गाउँपालिकाकाले आलुको पकेट क्षेत्रको रुपमा स्थापित गर्ने गरि २० लाख रुपैयाँ बजेट बिनियोजन गरेर आलु भण्डारण गृह समेत निर्माण कार्य भइरहेको छ।

‘भर्खर लहलहाउदै गरेको आलुको बिरुवानै असिनाले छियाछिया बनाई दिएकाले अब यो वर्ष कसरी टार्ने भन्ने पिरलो छ,’ स्थानीय कृषक प्रेम श्रीसले भने,‘यहाँ धान खेती नहुने भएकाले हामीले आलुले नै धान साटेर भात खाने गरेका छौँ।’ अगुल र शहरी क्षेत्रका व्यक्ति आलुसँग धान साट्नका लागि घरघरमै पुग्ने गर्र्दछन्।

आधा घण्टा जति निरन्तर परेको असिनापानीले वडाका अधिकांश कृषकको बालीनालिमा ठूलो क्षति पुर्‍याएको स्थानीय कुमार क्षत्रीले बताए। शुक्रबार आएको असिना पानीका कारण गहुँवालीमा क्षतिसँगै खेतवारीमै केही फिट असिना जमेको उनले बताए।

गाउँमा असिनाले ठूलो क्षति पुगेपछि स्थलगत अध्ययन गरि क्षतिको विवरण संकलन गर्न सुरु गरिएको वडा अध्यक्ष याम श्रीसले जानकारी दिए। यसबारेमा गाउँपालिकामा जानकारी गराई सकिएको उनले बताए।

काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले असिना पानीले बालीनालीमा ठूलो क्षति पुर्‍याएको सूचना पछि स्थलगत अध्ययनका लागि हिँँडेको बताए। ‘पहिले हामी स्थलगत रुपमै गाउँमा पुगेर क्षतिको अवस्था हेर्छौ,’ अध्यक्ष थापाले भने, ‘त्यसपछि किसानको राहतको लागि के गर्न सकिन्छ, त्यसबारेमा कार्यपालिकामा छलफल गरेर कार्यक्रम ल्याउने छौँ।’
अन्नपूर्ण पोष्ट

धेरै पढिएको