१८ बैशाख २०८१, मंगलवार
Follow Us

ओलीले बोलाए पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७६, बिहीबार ०१:५८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पूर्वपूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दैछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तय भएसँगै उनीहरुसँग आवश्यक सल्लाह लिन प्रधानमन्त्रीले बालुवाटारमा बैठक बोलाएका हुन् ।
चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमण हुँदैछ भने भ्रमणको मिति सार्वजनिकसँगै सरकारले तयारीलाई तीव्रता दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम बुधबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नेछन् । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ । राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

नेपाल र छिमेकी चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको तथा पछिल्लो समयमा आपसी मित्रता र सहकार्य थप अभिवृद्धि गर्न दुवै मुलुकको नेतृत्व तयार देखिएकाले राष्ट्रपति सीको राजकीय भ्रमणले जनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ ।