काठमाडौं । मन्त्रिपरिषद्मा सिफारिस भएका मन्त्रीहरुको सपथ आज हुँदैछ । तर, समय भने एकिन भइनसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आइतबार बसेको बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेकोमा आज सपथ हुन लागेको हो । सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ । सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।
त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय तथा डाक्टर संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ ।
तर, मिश्राको नाम होल्ड गर्न लगाइएको जनाएको छ । मिश्रा स्वास्थ्य मन्त्रालयमा लामो अनुभव बोकेकी विशेषज्ञ भए पनि भ्रष्टाचार मुद्दामा जोडिएको भन्दै विरोध भएपछि होल्ड गर्न लागिएको बताइएको छ ।
जेन–जी विद्रोहपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको तेस्रो दिन मन्त्रिपरिषद्मा तीन जना मन्त्री पहिले नै नियुक्त भइसकेका छन् । भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले यसअघि गत सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन ।