१६ बैशाख २०८१, आईतवार
Follow Us

सत्तारुढ नेकपाको बैठक बिना निष्कर्ष टुंगियो

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७६, शनिबार १०:१४

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसहित तीन प्रदेशसभा सदस्य, धरान उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।

सचिवालय बैठक आइतबार पुनः बस्ने गरी टुंगिएको छ । बैठकमा पार्टीका तल्ला कमिटीले सिफारिस गरेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयरका सम्भावित उम्मेदवारहरुबारे छलफल भए पनि निर्णय हुन सकेन । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिफारिस उम्मेदवारबारे छलफल भएको र भोलि बस्ने बैठकले अन्तिम निर्णय गर्ने जानकारी दिए । मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।