२१ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौ र ललितपुरका निजी स्वास्थ्य संस्थामा छापा

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०४:४०

काठमाडौं । स्वास्थ्य मन्त्रालयले टोलीले आज काठमाडौ र ललितपुरका ३४ ओटा क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन गर्दा प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेका पाँच ओटा क्लिनिकलाई सिलबन्दी गरिदिएको छ ।
स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी, सञ्चारकर्मी लगायतको टोलीले गरेको अनुगमनका क्रममा काठमाडौका ४ र ललितपुरको १ ओटा क्लिनीकहरुमा सिलबन्दी गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका डा हेमन्त ओझाको नेतृत्वमा रहेको काठमाडौको टोलीले दर्ता नै नभएका बानेश्वर देखि कोटेश्वरसम्म रहेका जागरण क्लिनीक, एसआरडी डाइनोष्टीक, लोकसेवा डेण्टल क्लिनीक र अपी डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको हो ।
विराज डेण्टलले भने बैधता संवन्धी कागजपत्र माग्दा केहीबेरमा ल्याउछु भनेर भागेकाले भोली फेरी माग्न जाने र नभएमा तालाबन्दी गरिने डा ओझाले बताउनु भयो ।
त्यस्तै केही फार्मेसीहरुमा भने पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नबढेकाले पनि औषधी विक्रि गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण पनि मागिएको डा ओझाले जानकारी दिनुभयो ।
टोलीले मिनभवनमा रहेका सिमा फार्मेसी, जागरण फार्मेसी, नवजीवन फार्मेसी, गौरीशंकर फार्मेसी, सोर्निम फार्मेसी, सुखद फार्मेसी, दियोकलश फार्मेसी, हरिहर फार्मेसी, इएनटी सेन्टर, अतिग फार्मेसी, एडभान्स ओरल डेण्टल हस्पीटल र सुभ फार्मेसीमा अनुगमन गरेको हो । उनीहरुमा खासै समस्या नदेखिएको अनुगमन टोलीमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका उपप्रशासक डा युवराज पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी ललितपुरमा स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरिदिएको छ । दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले तालाबन्दी गरिदिइएको अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयका उपसचिव डा भवनाथ खतिवडाले जानकारी दिनुभयो ।
टोलीले ललितपुरको जाउलाखेलमा रहेका नेश्नल हस्पीटल एण्ड रिसर्च सेण्टर, नेश्नल फार्मेसी, अप्टीकल नेपाल, हाम्रो डेण्टल क्लिनीक, द बेष्ट अप्टीकल, बेष्ट अल्का अप्टीकल, सामना फार्मेसी, रासा मेडिको प्राली, विद्या अल्का फार्मेसी, अल्का अस्पताल प्राली, सिम्रीक डेण्टल क्लिनीक, आशिष फार्मेसी, सुमेरु अस्पताल, लेजर थेरापी क्लिनीक, सुप्रिती फार्मेसी र वनयुरा फार्मेसीमा अनुगमन गरेको डा खतिवडाले बताउनु भयो ।
दुवै अनुगमन टोलीले क्लिनीक तथा फार्मेसीहरुमा दर्ता तथा नविकरण संवन्धी कागजपत्र, तोकिए अनुसारको आधारभुत मापदण्ड पुरा भए नभएको बारेमा जाँजबुझ गरेको थियो ।
काठमाडौका धेरै क्लिनीक तथा फार्मेसीहरु आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन भईरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री थापाले अनुगमन टोली खटाउनु भएको हो ।
उहाँले अनुगमनलाई तिव्रता र निरन्तरता दिईने तथा दोषीलाई कारबाही गर्न नछाडीने बताउनु भयो ।
अनुगमन कार्य काठमाडौ उपत्यकामा मात्रै सिमित नगरी देशभरका अन्य ठाउहरुमापनि गरिने मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।