२५ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाललाई १५ स्वर्ण, कराते र तेक्वान्दोमा ७–७ वटा

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७६, सोमबार १५:३९

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत दोस्रो दिन नेपालले १५ वटा स्वर्ण पदक जितेको छ । २४ स्वर्ण पदकको छिनोफानो हुँदा नेपालको भागमा १५ वटा परेको हो । नेपालले जितेको अधिकांश पदक मार्सलआर्टका छन् । तेक्वान्दोमा ७ र करातेमा ७ वटा स्वर्ण पदक नेपालले जित्यो । एउटा स्वर्ण पदक महिला ट्राइथलोनमा सोनी गुरुङले जितेकी हुन् ।

कराते
७ स्वर्ण कराँतेबाट रह्यो । मण्डेकाजीले एकल र प्रविण मानन्धर र महसुस तामाङसँग मिलेर टिम कातामा स्वर्ण जितेका छन् । यस्तै महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको टिमले स्वर्ण जित्यो । महिला एकल कातातर्फ चञ्चला दनुवारले रजत जितेकी छन् ।

कुमुतेतर्फ पनि नेपालले चार स्वर्ण जित्यो । पुरुषतर्फ ५५ केजीमुनी लक्ष्मण तामाङ र ८४ केजीभन्दामाथि विप्लव मान श्रेष्ठले स्वर्ण जिते । महिलातर्फ ४५ केजीमुनी कुशुम खड्का र ५० केजीमुनी अनु अधिकारीले स्वर्ण जितेकी छिन् । ८४ केजीमुनी प्रतिस्पर्धा गरेका दिवस श्रेष्ठ भने फाइनलमा पराजित हुन पुगे । उनले रजतमा चित्त बुझाए ।

तेक्वान्दो
आयशा शाक्य एकल र टिमतर्फ जितिन् । यस्तै १७ देखि २३ वर्षको समूहमा सीना मादेन, २३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङले स्वर्ण जितेकी छन् । पुरुषतर्फ २३ देखि २९ वर्ष समूहका कमल श्रेष्ठले पनि स्वर्ण पदक जितेका छन् ।

यसैगरी पुम्सेको कटिमतर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले नेपाललाई स्वर्ण पदक दिलाएको छ ।