२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अदालतको निर्णयप्रति पाकिस्तानी सेनाको गम्भीर आपत्ति

नेपालब्रिटेन संवाददाता
२ पुष २०७६, बुधबार ०४:१०

इस्लामावाद । पूर्वसैन्य प्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको निर्णयप्रति पाकिस्तानको सेनाले आपत्ति जनाएको छ । इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने फैसला गरेपछि सेनाको प्रतिक्रिया आएको हो ।

पाकिस्तानी सेनाले फैसलाले आफ्ना सबै ओहदाका फौजीलाई दुःखी तुल्याएको जनाएको हो । सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले विज्ञप्ति जारी गर्दै मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको जनाएका हुन् ।

पूर्वराष्ट्रपति समेत रहेका जनरल मुशर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको भनाइ छ । पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वसेना प्रमुखलाई देशद्रोहमा दोषी ठर्हयाइएको यो पहिलो पटक हो ।

मुद्दा चल्दाचल्दै सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका उनको त्यहीँ उपचार भइरहेको छ । उनको समूहले फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ ।

सर्वोच्चले पनि यो फैसला सदर गरेमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै मृत्युदण्डको सजाय माफ गर्न सक्छन् । मुशर्रफ सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका थिए । उनले सन् २००७ नोभेम्बर मा सङ्कटकाल लगाएर संविधान निलम्बित गरेका थिए ।