काठमाडौं । गत भदौ २४ गते काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा भएको आगजनी र प्रहरीमाथि कुटपिटको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनकै बेला लुटपाट भएको प्रहरीको हतकडी र त्यसको चाबीसहित अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार, पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ मकवानपुरका स्थायी बासिन्दा हाल शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रभागले जनाएको छ ।
यता, प्रहरी वृत्त बौद्धले आन्दोलनका क्रममा लुटिएको हतकडी र चाबीसहित झापा दमक नगरपालिका–२ का स्थायी बासिन्दा हाल बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई कात्तिक ८ गते साँझ ७ बजे गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
जेनजी समूहले आयोजना गरेको आन्दोलन प्रदर्शनका क्रममा साँखुमा हिंसात्मक घटना भएको थियो । सो दिन प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी प्रभाग साँखुमा आगजनीका साथै प्रहरीमाथि कुटपिटसमेत भएको थियो । घटनामा प्रहरीका हातहतियार र अन्य सामग्रीहरू पनि लुटिएको बताइएको थियो ।