२४ बैशाख २०८१, सोमबार
Follow Us

अमेरिकाले स्पष्ट नपारेसम्म एमसीसी सम्झौता अनुमोदन नगर्ने नेकपाको निर्णय

नेपालब्रिटेन संवाददाता
६ पुष २०७६, आईतवार १३:२६

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति वैठकले विवादित बनेको एमसीसी सम्झौता इण्डो प्यासिफिक रणनीति अन्र्तगत होइन् भनेर अमेरिकाले स्पष्ट नपारेसम्म संसदबाट अनुमोदन नगर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गर्दै बैठकले आज (आइतबार) यस्तो निर्णय गरेको हो ।

बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन सदस्यहरुका सुझाव समेटेर सर्वसम्म्मत पारित भएको छ । यस्तै, महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने र स्थायी कमिटी सदस्यहरुका सुझाव समेटेर आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको छ ।

बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पुस २३ गते काठमाडौमा बस्ने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । विवादित एमसीसी सम्झौता भने इन्डो प्यासिफिक रणनीति अन्र्तगत होइन् भनेर अमेरिकाले स्पष्ट नपारेसम्म संसदबाट अनुमोदन नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

एमसीसी अन्तरगत आउन लागेको अमेरिकी सहयोगका विषय वैठकमा विवादित बनेको थियो । धारणा राख्ने क्रममा केहिले यो सहयोग लिईएमा इन्डो प्यासेफिक रणनीतिमा नेपाल फस्ने बताएका थिए भने केहिले शर्त संशोधन सहित पारित गर्नुपर्ने आवाज उठाएका थिए । केहिले भने खुलेर एमसीसीको बचाउ गरेका थिए ।

यस्तै, बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै अगाडी बढाउने निर्णय गरेको छ । गत आइतबारदेखि बसेको स्थायी समिति वैठक आज समापन भएको छ ।