२७ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकाको सीमा क्षेत्रबाट अपहरणमा परेका ६ नेपाली आप्रवासीको उद्धार

नेपालब्रिटेन डट कम्
८ पुष २०७६, मंगलवार १९:४५

काठमाडौं। संगठित मानव तस्करको अपहरणमा परेका ६ जना नेपाली र २ जना श्रीलंकाली गरी ८ जना आप्रवासीलाई मेक्सिकोका अधिकारीहरुले उद्धार गरेका छन् । ती अपहरणकारीहरुले आप्रवासीहरुलाई अपहरण गरी उनीहरुलाई छोड्नको लागि रकम माग गरेका थिए । तमाउलीपासका अधिकारीहरुले अमेरिकाको टेक्सासबाट संचालित समाचार वेबसाइट ब्रिटबार्टलाई बताएअनुसार शुक्रबार दिउँसो तमाउलीपास राज्यको एन्टिगुओ मोरेलोस शहरबाट ती आप्रवासीको उद्धार गरिएको हो ।

अधिकारीहरुलाई करिब ४ बजेतिर अपहरणमा परेका व्यक्तिहरुबारे सूचना प्राप्त भएको थियो । सूचना पाएपछि तमाउलीपास राज्य पुलिसको एक टिम एल सउज भन्ने ठाउँमा पुगेको थियो, जहाँ ती अपहरितहरुलाई राखिएको थियो । पुलिस आएको थाहा पाएपछि ८ जना एउटा घरबाट भाग्दै बाहिर निस्किएर मद्दत मागेका थिए । अधिकारीले पक्राउ गरिएका अपहरणकारीबारे कुनै जानकारी दिएको छैन ।

उद्धार गरिएका आप्रवासीहरुका अनुसार अपहरणकारीहरुले उनीहरुलाई ३ दिनदेखि खाना पानी नदिइ त्यो घरमा राखेका थिए । अपहरणकारीले अपहरितका परिवारसँग पैसा मागिरहेका थिए । उद्धार गरिएका मध्ये ६ जना नेपाली र २ जना श्रीलंकाली नागरिक हुन् । उनीहरु मेक्सिको हुँदै अमेरिकाभित्र छिर्न चाहन्थे तर त्यसअघि नै अपहरणकारीलदे उनीहरुलाई अपहरण गरे ।

उद्धारपछि उनीहरुलाई खाना पानी दिएर अधिकारीहरुले सिउडाड मान्टेमा रहेको तमाउलीपास राज्यका न्यायाधिवक्ताको कार्यालयमा लिएर गएका थिए । त्यहाँ उनीहरुको मेडिकल जाँच भएको थियो । अनुसन्धानको लागि केस दर्ता गरी उनीहरुको बयान लिएपछि अधिकारीहरुले उनीहरु मेक्सिकोमा बस्नको लागि कानुनी रुपमा योग्छ छन् कि छैनन् भन्ने जाँचका लागि लिएर गएका छन् ।