१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रीप्रति प्रधानमन्त्रीको अविश्वास, निगरानीमा आफै सक्रिय

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७६, बुधबार ०४:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई विश्वास गर्न छाडेका छन् । प्रधानमन्त्री ओलीको योे अविश्वास मन्त्रीहरुप्रति चुलिदै गएको छ । प्रत्येक मन्त्रीको निगरानीमा आफै सक्रिय भएकाले यस कुराको पुष्टि हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘केही मन्त्रालयका मन्त्रीहरूले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छोडेर काममा खट्नुस् ताकि परिणाम छिट्टै देखिन सकोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत पार्दै भने । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कामप्रति आफ्नो संयन्त्रमार्फत निगरानी बढाउँदै आएको स्रोतले जानकारी दिएको छ । निगरानीका क्रममा हालै थप गरिएका मन्त्रीहरूले कार्यकर्ता भेटघाटलाई तीव्रता दिँदा मन्त्रालयको काममा असर परेको पाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि मन्त्रालयको कामबारे नियमित रूपमा -याकिङ भइरहेको स्पष्ट पारेको छ । मन्त्रालयको -याकिंङबाट मन्त्रीको कामको बारेमा प्रधानमन्त्रीले नियमित जानकारी लिइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।