२९ बैशाख २०८१, शनिबार
Follow Us

चितवन मेडिकल कलेजमा लगाइएको ताला खुल्यो

sarusaru
२३ पुष २०७६, बुधबार ०४:०७

चितवन : शुल्क वृद्धिको विरोधमा उत्रिएका चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलन छोडेर पढाइ र परीक्षामा लागेका छन् । लामो समयसम्म आन्दोलन गरेका विद्यार्थी आन्दोलन छाडेर पढाइतिर लाग्ने निश्कर्षमा पुगेका हुन् ।

विद्यार्थीले कैलाशनगर स्थित कलेजको प्रशासनिक भवनमा लगाएको ताला मंगलबार खोलेका छन् । उनीहरूले कार्तिक २२ गते ताला लगाएका थिए । कलेजमा अध्ययनरत विद्यार्थी र अभिभावकको छलफलपछि ताला खोल्ने निर्णय गरेका हुन् ।

माग पूर्णरुपमा सुनुवाइ नभए पनि पढाइ र परीक्षामा असर नपरोस् भनी ताला खोल्ने निर्णय गरेको अभिभावक महेशप्रसाद अधिकारीले बताए । आन्दोलनले कुनै निष्कर्ष नदिए पनि पढाइलाई अगाडि बढाउने निर्णय भएको उनले बताए । परीक्षा र पढाइ अगाडि बढाउन ताला खोल्ने निष्कर्षमा पुग्यौँ’, अधिकारीले भने, ‘आन्दोलन गर्दा कसैले सुनेनन्, पढाइ बिगार्न त भएन नि।’

विद्यार्थी र अभिभावकको टोलीले काठमाडौंमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई भेटेर परीक्षा दिन छुटेकालाई परीक्षा दिने वातावरण मिलाउन आग्रह गरेका छन् । आन्दोलनको क्रममा परीक्षा छुटेकालाई नियमित तालिका अनुसार दिने व्यवस्थाको माग गरेका छन् ।

तर माग सुनुवाई नभएसम्म कुनै शुल्क नतिर्ने उनीहरुले बताएका छन् । आन्दोलनरत चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य मान्यता थापाले परीक्षाको कारण आन्दोलनको स्वरुप फेर्न लागेको बताइन्। ‘पढाइ र परीक्षा बिग्रने कारण अभिभावकको छलफलमा ताला खोलेका हौँ’, उनले भनिन्,‘ सडकको आन्दोलन सदन र सरकारले नसुनेपछि तरिका फेर्छौँ । ’ ।
अन्नपूर्ण पोष्ट