३० बैशाख २०८१, आईतवार
Follow Us

दुई अध्यक्षले सल्टाउन नसके सभामुखको विषय सचिवालयले टुंग्याउछ: झलनाथ खनाल

sarusaru
२३ पुष २०७६, बुधबार ०७:१६

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र अब पूर्वएमाले र पूर्वमाओवादी नरहेको दाबी गरेका छन्।

पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले बलियो बनाएर लैजान पर्ने भएकाले पार्टी अझै एउटै डल्लो बनेर जानुपर्ने बताए।

सेतोपाटीसँग कुराकानी गर्दै खनालले सभामुख पद पूर्वएमाले र पूर्वमाओवादी कसले पाउनेभन्दा पनि योग्य र सक्षम नेताले पाउने बताए।

‘सभामुख पदको लागि योग्य हाम्रो पार्टीमा थुप्रै साथी हुनुहुन्छ। त्यसमध्ये जोकोहीलाई जिम्मा दिए पनि हुन्छ। सुवास नेम्वाङलाई फेरि जिम्मा दिए पनि हुन्छ। अग्नि सापकोटालाई जिम्मा दिए पनि हुन्छ,’ खनालले भने, ‘जसलाई जिम्मेवारी दिए पनि सभामुखको पद मजासँग सञ्चालन गर्न सक्नुहुन्छ। मलाई हाम्रो नेताको पंक्तिमाथि विश्वास छ। उपसभामुखले पनि दाबी गर्नुभएको छ, उहाँको दाबी स्वभाविक छ। त्यसमा त्यस्तो ठूलो अन्यथा हुन्छजस्तो लाग्दैन।’

बलात्कार प्रयासको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएका थिए। त्यसयता प्रतिनिधि सभाको सभामुख पद रिक्त छ।

सभामुखका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्नि सापकोटालाई अगाडि सारेका छन्।

दुई अध्यक्षबीच सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक सुचारू हुन सकेको छैन। उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखका लागि दाबी गर्दै आएकी छन्।

पुस २७ गतेसम्म पार्टीले सभामुखको टुंगो लगाइसक्ने समेत खनालले बताए। यद्यपी अहिलेसम्म नेकपाको सचिवालयमा यस विषयमा छलफलसमेत नभएको खनालको भनाइ छ।

‘सभामुख चयनको विषय सचिवालयमा प्रस्तुत हुनेबित्तिकै हामी एउटा निर्णयमा पुग्छौं। अहिलेसम्म हाम्रो बैठकमा कुनै कुरा आएको छैन,’ खनालले भने, ‘दुई अध्यक्षबीचमा केही कुरा आएको भए हामीलाई थाहा छैन। उहाँहरूले आफूले निर्णय गर्न सक्नुभएन भने सचिवालय बैठकमा आउँछ। त्यसपछि हामी निर्णय गर्छौं।’

सचिवालयको बैठक कुनै पनि दिन बस्न सक्ने र त्यही बैठकले टुंगो लगाउनेसमेत उनले बताए।

अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) इन्डो प्यासेफिक रणनीतिको अंग भए त्यसलाई स्वीकार गर्न नसकिने खनालको भनाइ छ। इन्डो प्यासेफिक रणनीति सैन्य संगठन भएको र एमसिसी पनि त्यसकै अंग भएको अमेरिकाले खुलायो भने एमसिसीको सहयोग लिन अफ्ठ्यारो पर्ने खनालले बताए।

‘एमसीसीले बहस सिर्जना गरेको छ। हाम्रो देश स्वभाविक रूपले असंलग्न परारष्ट्र नीति भएको देश हो। यो जन्मदैदेखि असंलग्न छ र हाम्रो परराष्ट्र नीति असंलग्न छ,’ खनालले भने, ‘हामी कुनै किसिमका राजनीतिक मोर्चाबन्दीमा सामेल हुँदैनौ। सैन्य गठनबन्धनमा त झन सामेल हुँदैनौ।’

एमसिसीबारे अहिले पनि बहस चलिरहेको खनालले बताए।

मंसिर र पुसमा गरी एक साता बसेको नेकपा स्थायी कमिटी बैठकमा पनि एमसिसीबारे ठूलो बहस भएको थियो। यद्यपी नेकपाले कुनै निर्णय गरेको छैन।

अमेरिकन दूतावासले भने एमसिसी इन्डो प्यासेफिककै अंग हो भनेर भनिसकेको छ। त्यतिमात्रै होइन उसले नेपालमा सञ्चालन भएका सबै परियोजना इन्डोप्यासेफिककै अंगसमेत रहेको भनेको छ। के अब अमेरिकाको कुनै पनि सहयोग नलिने?

अमेरिकन दूतावासले यस्तो भनेको हो भने अमेरीकी सहयोग लिन सोच्नुपर्ने अवस्था आउने समेत खनालले बताए।

‘इन्डो प्यासेफिक रणनीति सैन्य संगठन हो कि होइन भन्ने पनि प्रष्ट भएको छैन। यसलाई प्रष्ट पार्ने अमेरिकाले नै हो,’ खनालले भने, ‘हामीलाई अमेरिकी सहयोग चाहिन्छ तर सैन्य संगठनसँग जोडिने गरी लिन सकिँदैन।’
सेतोपाटी