३० बैशाख २०८१, आईतवार
Follow Us

मिसाइल प्रहार गरेपछि युक्रेनी विमान दुर्घटना !

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७६, शुक्रबार ०४:५७

तेहरान । युक्रेनी विमानलाई इरानले झुक्किएर मिसाइल प्रहार गरेपछि दुर्घटना भएको अमेरिकी मिडियाहरुले दाबी गरेका छन् । इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बुधबार दुर्घटना परेको विमान सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको वोइङ ७३७–८०० लाई मिसाइल प्रहार भएको अमेरिकी अनुसन्धानकर्ताको भनाइ छ । स्याटेलाइटबाट प्राप्त सूचनाका आधारमा विमानमा मिसाइल हानिएको निष्कर्षमा अमेरिकी पुगेका हुन् ।

युक्रेनको विमानमा एउटा रसियामा बनेको टोर मिसाइलबाट प्रहार भएको दावी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कसैले गल्तिले गरेको हुनसक्ने आफूलाई लागेको बताएका थिए । युक्रेनले सो विमानलाई खसालिएको हो कि होइन भन्ने अध्ययन गरिरहेको छ ।

इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा मिसाइल आक्रमणहरु गरेको केहि घन्टाभित्रै सो जहाज दुर्घटना भएको थियो । इरानले दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनी बोइङ वा अमेरिकालाई नदिने बताएपछि दुर्घटना थप रहस्यमय बनेको छ ।