३१ बैशाख २०८१, सोमबार
Follow Us

आज माघे सक्रान्ती, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

नेपालब्रिटेन संवाददाता
१ माघ २०७६, बुधबार ०३:०७

काठमाडौं । आज माघे संक्रान्ती । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माघेसंक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।