३१ बैशाख २०८१, सोमबार
Follow Us

नेकपाभित्र चुलिँदो आन्तरिक शक्ति संघर्ष, बहुमतको सरकार संकटमा

नेपालब्रिटेन संवाददाता
८ माघ २०७६, बुधबार ०४:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक शक्ति सघर्ष चुलिएको छ । पार्टीभित्र को शक्तिशाली बन्ने होडबाजीका कारण सभामुखको उम्मेद्वार चयनमा समेत नेकपाले महिनौँ दिन लगायो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संघीय संसदको सभामुखको उम्मेद्वार चयनका लागि झन्डै ६ महिना लगायो । सभामुखमा उम्मेदवारीका लागि पूर्वएमाले र पूर्वमाओवादीले आ-आफनो अडान नछाडदा प्रतिनिधि सभाको कामकाज नै प्रभावित बन्न पुग्यो । अन्ततः एकिकरण ताकाको सहमति भन्दै पूर्वमाओवादी पक्षका अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउन नेकपा तयार भयो ।

नेकपाभित्र स्पष्ट रुपमा तीन गुट सक्रिय छन् । पार्टी अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालको आ–आफ्नै गुट छन् । सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि हस्तक्षेप गरेपछि भण्डारीको पनि छुट्टै गुट सक्रिय छन् । भण्डारीले निर्वतमान उपसभामुख शिवमायाँ तुम्वाहाम्फेलाई सभामुख बनाउन पार्टीभित्र सर्कुलर गरेकी थिइन् । उक्त प्रयास असफल भएपछि तुम्वाहाम्फेले पार्टीभित्र पितृसतात्मक सोच हावी भएको भन्दै नेतृत्वको आलोचना गरिन् ।

कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि उनले सभामुख पदबाट राजिनामा दिएका थिए । पार्टी एकतापछि दुवै पद भोग गरिरहेको नेकपालाई उनको राजिनामा संगै सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्नेमा संविधानले बाटो छेक्यो । उम्मेद्वार चयनका लागि सत्तारुढ दलभित्रको विवादले महिनौँ दिनसम्म संसद नै बन्धक बन्नपुग्यो । यो क्रम पार्टी महाधिवेशनसम्म नै चलिरहने नेताहरु बताउँछन् ।

सत्तारुढ दलभित्रको विवादका कारण पाँचवर्षको म्याण्डेड पाएको सरकार कमजोर बन्दै गएको छ । तर, महिनौँ दिनसम्म संसद अनिर्णयको बन्दी बनाएर राख्दा मुलुक र जनतालाई कति क्षति हुन्छ त्यसतर्फ कसैको ध्यान देखिदैन् ।