२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा लगानीको वातावरण बनिसकेको छ – राजदूत, डा. दुर्गा बहादुर सुवेदी

नेपालब्रिटेन डट कम्
१३ माघ २०७६, सोमबार २१:३९

‘हाम्रो संविधान लोकतान्त्रिक मूल्य मान्यता र आदर्श बोकेको उत्कृष्ट संविधान हो’

लन्डन- बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालमा राजनीतिक अस्थिरता छ, लोडसेडिंग छ, लगानीको वातावरण छैन्, सुरक्षा छैन भन्ने जस्ता कुरा अब नदोहोराउन अनुरोध गरेका छन् ।

साउथ एसिया टाइम डटकम, इन्टरन्याशनल सोलीड्यारिटी फर नेपाल तथा हिमालयन डिभेलपमेन्ट इन्टरन्याशनलले आइतबार लन्डनको पट्नीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपालको संविधान पूर्ण लोकतान्त्रिक र संसारकै उत्कृष्ट मध्ये एक भएको पनि बताए । ‘हाम्रो संविधान लोकतान्त्रिक मूल्य मान्यता र आदर्श बोकेको उत्कृष्ट संविधान हो’, उनले थपे, ‘मानवअधिकार प्रत्याभूति, नागरिक र नारी अधिकार, सीमान्तकृतहरुको अधिकार, न्यायपालिका तथा प्रेस स्वतन्त्रता, आर्थिक सामाजिक न्यायका सवाल आदिमा नेपालको संविधानलाई उत्कृष्ट भन्न हिच्किचाउनु पर्ने छैन,’ उनले भने।

“नेपालमा व्यवसाय, विकास र मानव अधिकार” विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपाललाई आपतविपत पर्दा बेलायतमा बसोबास गरिरहेका नेपालीहरूले मुठी खोलेर सहयोग गरेको बताउंदै राजदूत डा. सुवेदीले बेलायतको प्राज्ञिक, वौद्धिक वर्गले नेपालको समृद्धिमा सहयोग गर्न जरुरी रहेको पनि बताए।

कार्यक्रमको शुरुमा गैर आवासीय नेपाली संघ आइसीसीका निवर्तमान उपाध्यक्ष कुल आचार्य तथा गैर आवासीय नेपाली संघ युकेकी अध्यक्ष पूनम गुरुङले एक वर्ष पुरा गरेको अवसरमा साउथ एसिया टाइम परिवारलाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डा. कपिल रिजाल, बेलायतको हडर्सफिल्ड विश्व विद्यालयमा अन्तर्राष्ट्रिय मामिला हेर्ने सहायक डिन प्राध्यापक पदम सिम्खडा, युनिभर्सिटी कलेज लन्डनकी रिसर्च फेलो डा. पूनम यादव, बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिंह खड्का र हिमालयन डिभेलपमेन्ट इन्टरन्याशनलका कार्यकारी निर्देशक प्रकाश खनालले प्रस्तुति गरेका थिए।

‘नेपालको उच्च शिक्षामा निजीकरण’ विषयमा प्रस्तुति दिंदै प्राध्यापक पदम सिम्खडाले नेपालमा हाल उच्च शिक्षा लिइरहेका ३६१,००० विद्यार्थी हरु मध्ये १२१,००० सरकारी कलेजहरुमा र १२८,००० निजी कलेजहरुमा पढी रहेको बताए। उनले सरकारले उच्च शिक्षामा ०.४ प्रतिशत मात्रै लगानी गरिरहेको भन्दै त्यो दक्षिण एसियाली स्तरमै न्यून रहेको बताए ।

नेपालमा जम्मा १२१,००० विद्यार्थीहरु सरकारी कलेजहरुमा पढी रहंदा अहिले झन्डै ६५,००० नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको र अध्ययनकै लागि ४० अर्ब रुपियाँ देशबाट बाहिरिएको बताए। प्रा. सिम्खडाले नेपालमा कलेजको संख्या बढाएर मात्रै विदेश जाने विद्यार्थीलाई रोक्न नसकिने बरु यसका लागि देश भित्रै आर्थिक विकास गरी आयआर्जन र रोजगारीका अवसरहरु बढाउनु पर्ने सुझाव पनि दिए । उनले सही सरकारी नीति र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने नेपाल उच्च शिक्षामा दक्षिण एसियाकै हब बन्न सक्ने सम्भावना रहेको पनि जनाए।

कार्यक्रमको संचालन पत्रकार भगीरथ योगीले गरेका थिए भने साउथ एसिया टाइमका कार्यकारी सम्पादक तथा इन्टरन्याशनल सोलीड्यारिटी फर नेपालका अध्यक्ष डा. कृष्ण उपाध्यायले छलफलमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। साउथ एसिया टाइमका सम्पादक तथा प्रकाशक जगन कार्कीले सबै सहभागी तथा प्रस्तोताहरुलाई धन्यवाद दिएका थिए।