२६ बैशाख २०८१, बुधबार
Follow Us

हजार शय्याको अस्पताल चीनले बनायो ४८ घण्टामा (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७६, बिहीबार ०४:२६

बुआन । चीनले कोरोना भाइरसको उपचार गर्ने पहिलो अस्पताल निर्माण गरेको छ । चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याएको हो । वुहान शहर नजिकै कामदार र स्वयंसेवकको मद्दतमा चीनले उक्त अस्पताल २ दिनमा निर्माण सम्पन्न गरेर डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर सञ्चालनमा ल्याएको डेली मेलले जनाएको छ । एकदिनमै भवन बनाइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्‍न अस्पतालमा परिणत गरिएको बताइएको छ ।

चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड छ । तर यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुरुप पहिलो अस्पताल सञ्चालनमा आइसकेको छ भने वुहानबाट ७५ किलोमिटर पर अर्को अस्पताल पनि चाँडै नै सञ्चालनमा आउने डेली मेलले जनाएको छ ।

स्थानीय समय अनुसार राति १०: ३० बजेदेखि उक्त अस्पतालमा बिरामीहरुको उपचार गर्न थालिएको थियो । पहिलो पटक संक्रमित भएका कोरोनाका बिरामीलाई उक्त अस्पतालमा स्थानान्तरण समेत गरिएको छ ।

भवन निर्माण सकिएलगत्तै शनिबारदेखि अस्पतालको उपकरण जडानदेखिका आन्तरिक कामहरु गरिएको थियो । सोमबार अस्पतालमा हजार शय्याहरु व्यवस्थापन गरिएको थियो । यससँगै सोमबार नै पानी, बिजुली र इन्टरनेट जडान गरिएको ह्वाङगाङका सरकारी अधिकारीहरुले बताएका छन् । उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले काम गरेका थिए ।

यसैबीच कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ । ज्यान गुमाउने सबै चीन भित्रकै हुन् । यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिके कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भएको छ ।

गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । हाल सो क्षेत्रमा सार्वजनिक यातायात बन्द गरिएको छ । त्यहाँ रहेका विदेशीहरुलाई उनीहरुकै देश पठाउन थालिएको चीनका अधिकारीले बताएका छन् । जापानी तथा अमेरिकी नागरिकसहितको विमान वुहानबाट पठाइएको छ ।