२० बैशाख २०८१, बिहीबार
Follow Us

ट्रकमा ७ हजार दिएर तेस्रोलिङ्गीसँग यौनसम्पर्क, विवादपछि हत्या

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७६, मंगलवार ०७:३९

हेटौडा । मकवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले मँगलबार पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिका–११ की २९ बर्षीया अजिता भुजेलको हत्यामा संलग्न रहेको भन्दै ५ जनालाई सार्वजनिक गरेको हो ।

माघ ४ गते राती करिब १ बजेको समयमा अजिताको घाँटीमा तारले बेरिएको र अर्धनग्न अवस्थामा हेटौंडा ५ क्याम्पाडाँडामा शव फेला परेको थियो । हत्या अभियोगमा प्रहरीले पक्राउ गरी हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरी विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको प्रहरी उपरिक्षक सुशीलसिँह राठौरले बताए ।

हत्यापछि अजिताको मोबाइल परियारले बुद्ध लामाको साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि मोबाइल लोकेशनको आधारमा प्रहरीले सबैलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।