१३ असार २०८१, बुधबार
Follow Us

गोरखाका मेयरले लन्डनमा गरे देशकै बेइज्जत !

नेपालब्रिटेन डट कम्
२४ माघ २०७६, शुक्रबार १४:२१

लन्डन । अन्तराष्ट्रिय प्रतियोगिता खेल्न विदेश आएका नेपाली खेलाडी लुकेर बस्ने प्रवृत्तिले त सुन्दै आएको हो । खेल मैदानमै नपुगेका नेपाली खेलाडी पलायन भएको खबर सार्वजनिक हुदै आएको छ । तर बेलायत भ्रमणमा आएका एक जनप्रतिनिधिले देशको शिर झुक्ने गरी कार्यक्रमका आयोजकलाई जिल्लाराम पारेका छन् ।

रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनका लागि बेलायत भ्रमणमा रहेका गोरखा नगरपालिका मेयर राजनराज पन्तको सम्मानमा बिहीवार आयोजित एक कार्यक्रममा अनुपस्थित भएर कार्यक्रम आयोजकलाई नै अप्ठ्यारोमा पारेका थिए ।

लन्डन बरो अफ हउन्स्लो मेयर टोनी लुकीको आयोजनामा पन्त र उनको टोलीका लागि आयोजित स्वागत समारोहमा मेयर पन्त अन्तिम समयमा अनुपस्थित भएका रहे ।

त्यहाँ उपस्थित एक मिडियाकर्मीका अनुसार उनीहरुको स्वागतका अतिरिक्त गोरखा नगरपालिकाको तर्फबाट नेपाली राष्ट्रिय झन्डा हन्स्लो काउन्सिललाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको थियो । तर, मेयर पन्त नै अनुपस्थित भएपछि नेपाली कम्युनिटी हन्स्लोका अध्यक्ष डोल मल्लले लन्डन मेयर अफ हन्स्लो टोनी लुकिलाई नेपाली झन्डा हस्तान्तरण गरे ।

कार्यक्रममा एमपी रुथ क्याड्बरी, डेपुटी मेयर, काउन्सिलर बिष्णुबहादुर गुरुङ, स्थानीय सरकारका उच्च अधिकारीलगायत हन्स्लो नेपाली समुदायको उपस्थिति थियो । मेयर र उनको टिम नै कार्यक्रममा नजाँदा सहभागी नेपालीले दुख व्यक्त गरेका थिए ।

आयोजक लन्डन मेयर अफ हन्स्लोले कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरेपछि पन्तको टोली डोभरतिर घुम्न निस्किएको जानकारी दिएको थियो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भन्दै आयोजकले लन्डनस्थित नेपाली समुदायसँग अन्तक्रिया गरेको थियो ।

यसअघि पन्तको टोलीले रसमोर काउन्सिल भवन फार्नबोरोमा आयोजित विशेष समारोहका बीच रसमोर काउन्सिलसँग भगिनी सम्वन्ध कायम गर्ने एक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

ग्रेटर रश्मोर नेपालीको पहल र नेपाली दूतावास समेतको समन्वयमा रश्मोर र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध जोडिएको हो ।
मेयर पन्तसहित गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र पत्रकार महासंघ गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापाको टोली बेलायतमा रहेको छ ।

गोरखाका मेयरले स्पष्टिकरण दिदै भने ‘प्राविधिक कारणले कार्यक्रममा भाग लिन सकिन’