२८ बैशाख २०८१, शुक्रबार
Follow Us

इटालीमा कोरोना संक्रमित हुनेको संख्या एकै दिन पचास प्रतिशतले बढ्यो

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७६, सोमबार ०८:५७

रोम । इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन पचास प्रतिशतले वृद्धि भएको छ । आइतबार संक्रमण पचास प्रतिशतले बढेको स्वास्थ्यकर्मीले जानकारी दिएका हुन् । अहिले इटलीमा संक्रमित हुनेको संख्या १ हजार ६ सय ९४ पुगेको छ ।

शनिबारसम्म त्यो संख्या १ हजार १ सय २८ मात्रै थियो । पछिल्लो समय मिलान आसपासका क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको छ । इटालीमा संक्रमणवाट हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ । इटाली एसिया बाहिरका देशमा सबैभन्दा बढी संक्रमित हुने देश हो । दक्षिण कोरियामा पनि संक्रमण हुनेको संख्या बढ्दो क्रममा छ ।

हालसम्म ३ हजार ७ सय ३६ जनामा संक्रमण भेटिएको छ । २२ जनाको मृत्यु भएको छ । चीनपछि दक्षिण कोरियामा संक्रमणको गम्भिर अवस्था रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना सङ्क्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या तीन हजार ५३ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ ।

योसँगै चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ । चीनबाहिर मृत्यु हुनेको संख्या १ सय २९ रहेको छ । चीनको वुहानबाट सुरु भएको सङ्क्रमण ६५ भन्दा धेरै देशमा फैलिसकेको छ । यसमा इरानमा ५४, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् ।

फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् । ८९ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन् । ४५ हजार १ सय ३० जना उपचारपछि निको भएर घर फर्केका छन् ।