२९ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा ‘मेरो देशमा तेरो कोरोना चाहिँदैन’ भन्दै चिनियाँ मूलका विद्यार्थी कुटिए

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७६, बिहीबार १३:४४

लन्डन : कोभिड–१९ (कोरोना भाइरस) लाई नश्लवादसँग जोड्दै चिनियाँ मूलका सिंगापुरका विद्यार्थी बेलायतको लन्डनमा कुटिएका छन्। २३ वर्षीय जोनाथन मोक फेब्रुअरी २४ मा लन्डनको अक्स्फोर्ड गल्लीमा एक समूहबाट कुटिएका हुन्।

लन्डनमा दुई वर्षदेखि अध्ययन गरिरहेका मोक पश्चिमा देशमा हुँदै आइरहेको नश्लवादी आक्रमणको शिकार भएका हुन्। उनले आफूमाथि आक्रमण भएको सोमबार मात्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए।

आक्रमणबाट मोकको दाहिने आँखामा चोट लागेको छ। साथै उनको आँखा सुन्निएको छ। उनले आफ्ना दुई वटा फोटो फेसबुकमा राख्दै ‘एउटा तस्बिर ऐनामा लिएको हो, त्यसैले उल्टो देखिन्छ’, क्याप्सन लेखेका छन्। दुई तस्बिरमध्ये एउटा तस्बिरमा उनको आँखा सुन्निएको र गम्भीर चोट लागेको देखिन्छ। उक्त तस्बिर उनले आक्रमण भएको पछिल्लो दिन खिचेका थिए।

‘मलाई मुक्का हान्नुभन्दा पहिले एक्कासी एक जनाले लात्तले हानेर ‘मेरो देशमा तेरो कोरोना भाइरस चाहिँदैन’ भन्यो’, मोकले लेखेका छन्, ‘मुक्काले अनुहार रगताम्मे भयो।’

उक्त आक्रमणबारे लन्डन प्रहरीले पुष्टि गरेको छ। साथै मोकमाथि भएको ‘नश्लवादी आक्रमण’ को अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उक्त आक्रमण बेलायत लगायतका मुलुकहरूमा एसियालीमाथि बढिरहेको नश्लवादी घृणाको बेला भएको हो।