काठमाडौँ । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय हवाई उडान रद्द भएका छन् । आज जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले काठमाडौँमा गर्ने उडान रद्द भएको हो ।
कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् । मध्यपूर्वी देशमा निर्धारित उडान बाहेक अन्य मुलुकमा समेत सामान्य रूपमा उडान/अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस आज पनि बन्द रह्यो ।
हिजो सोमबार पनि त्रिभुवन विमानस्थलका लागि पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए ।