३० बैशाख २०८१, आईतवार
Follow Us

चीनमा यो महिनाको अन्त्यसम्ममा नयाँ कोरोना संक्रमितको संख्या शुन्यमा झर्ने

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७६, शुक्रबार ०४:५२

बुहान । कोरोना भाइरसको उद्गमथलो चीनको वुहानमा यो महिनाको अन्त्यसम्ममा नयाँ कोरोना संक्रमितको संख्या शुन्यमा झर्ने विज्ञहरुले बताएका छन् । नयाँ संक्रमित थपिने क्रममा उल्लेख्य कमी आएपछि विज्ञहरुले मार्च महिनाको अन्त्यसम्ममा कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउने बताएका हुन् ।

चीनमा हिजो ४ सय २२ नयाँ संक्रमित भेटिएका छन । चीनमा हालसम्म ८० हजार ५ सय ६५ जनामा संक्रमण भेटिएको छ । ३ हजार १५ जनाको मृत्यु भएको छ । चीन बाहिर २ सय ६७ जनाको मृत्यु भएको छ । संसारभर संक्रमितको संख्या ९५ हजार छ ।

अन्य मुलुकहरुमा भने संक्रमण फैलने क्रम जारी छ । स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, बोस्निया हर्ज गोभिना, स्लोभानिया र इजिप्टमा पहिलोपटक संक्रमण फेला परेको छ । संक्रमण तीब्र रुपमा फैलिरहेको दक्षिण कोरियामा विशेष निगरानी क्षेत्र घोषणा गरिएको छ । २ लाख ७५ हजार जनसंख्या रहेको गेयोङसान शहर वरपरको क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरिएको हो ।

दक्षिण कोरियामा आज मात्र ७ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ हजार ८८ पुगेको छ । अष्ट्रेलियाले दक्षिण कोरियालीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । इराकमा पहिलोपटक कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या ९० र भारतमा ३० पुगेको छ । इटलीमा ३ हजार जनामा संक्रमण पुष्टी भएको छ । इरानमा १ सय ७ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय १३ जनामा संक्रमण पुष्टी भएको छ । जर्मनीमा एकै दिन १ सय ९ जना संक्रमित थपिएका छन् ।