३० बैशाख २०८१, आईतवार
Follow Us

क्याम्ब्रिज विश्‍वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७६, शुक्रबार ११:४७

लन्डन । क्याम्ब्रिज विश्वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित भएकी छिन् । खसेको २ हजार ७ सय ४४ मतमध्ये उनले एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा सहजै निर्वाचित भएकी हुन् ।उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत मात्र प्राप्त गरिन् ।

यस पटकको चुनावमा २०.८८ प्रतिशत मत खसेको भर्सिटी डट सीओ डट युकेले जनाएको छ । अन्डरग्राजुएटअन्तर्गत भने विद्यार्थी युनियनको अध्यक्षमा बेन मार्गोलिस निर्वाचित भएका छन् । उनीहरुले आउँदो जुलाईदेखि जिम्मेवारी सम्हाल्नेछन् ।

रातो बंग्ला स्कुलबाट आफ्नो उच्च शिक्षा हासिल गरेकी आस्था नेपालमा रहँदा पनि समानता र न्यायका लागि विभिन्न अभियानमा संलग्न रहेकी थिइन् । उनी द्वन्द्वकालीन हिंसाका साथै घरेलु हिंसा र मानवअधिकारका विभिन्न अभियानमा संलग्न थिइन् ।

उनी क्याम्ब्रिज विश्वविद्यालयमा पनि विद्यार्थी र हकहित र सामाजिक न्यायका लागि निरन्तर लडिरहेकी छिन् । आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने बताएकी छिन् । त्यस्तै विश्वविद्यालय परिसरभित्र हुने यौन हिंसा रोक्न एउटा बलियो संयन्त्र बनाउने प्रतिबद्धता पनि आस्थाले व्यक्त गरेकी छिन् ।

आस्थाले अहिले क्याम्ब्रिज विश्वविद्यायमा क्रिमिनोजीमा विद्यावारिधि गरिरहेकी छिन् । उनी सन् २०१४ मै क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भएकी थिइन् । उनले क्याम्ब्रिजबाटै क्रिमिनोलोजीमा एमफील गरेकी हुन् ।