३१ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए भविष्य – चुनौतिका पहाड छन्: अध्यक्ष पन्त, दोहन रोक्न खोज्दा शत्रु बढे: महासचिव शर्मा (भिडियो)

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७६, शुक्रबार २१:०९

लन्डन। गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्माले संघभित्रका विषयमा खुलेर आफ्ना भनाई राखेका छन् ।
पन्त र शर्माले संघभित्र सुधारका काम थालिएको वताएका छन् । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तलाई अल्डरशटस्थित एम्पायर हलमा हिजो विहीवार साँझ आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए।

पन्तले आफूले नेतृत्व लिँदा संघभित्र चुनौतिका पहाड छेडेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताए। पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको बताए। उनले भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पन्तले विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकता बन्ने निश्चित भएको बताए। अहिले गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको विषय संसदीय समितिमा छ त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छु, पन्तले भने।

संघका महासचिव डा हेमराज शर्माले विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारे। उनले गैरआवासीय नेपाली संघ अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिए। उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको जनाए। शर्माले संघभित्र दोहन गर्ने रोक्न प्रयत्न गर्दा शत्रु बढेको वताए । उनले भने ‘संघभित्र दोहन गर्ने धेरै ठाउँ रहेछन त्यसलाई रोक्ने प्रयास भएको छ । धैर्य गरौं परिवर्तन हुन्छ।’