३० बैशाख २०८१, आईतवार
Follow Us

वालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले दियो एनआरएनलाई १५ दिने म्याद

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७६, शनिबार ००:२७

काठमाडौ । विशेष अदालतले उक्त प्रकरणमा संलग्न भएको आरोपमा मुद्दा लागेका भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मिनबहादुर गुरुङको परिवारको नाममा १५ दिने म्याद जारी गरेको छ।
विशेषले अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात, गैरआवासीय नेपाली संघसहित ७४ जना प्रतिवादीविरुद्ध अदालत उपस्थित हुन म्याद जारी गरेको हो।

जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामध्ये भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङका परिवार, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधर, शर्मिला शाक्यलगायतको नाममा म्याद जारी भएको विशेष अदालतका सह प्रवक्ता इन्द्रकुमार खड्काले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनको छोरो कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको भेटिएको छ।

गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।

अख्तियारका अनुसार गुरुङले बालुवाटारस्थित ललिता निवासभित्र रहेका जग्गा ८ जनालाई बिक्री गरेका थिए। जग्गा खरिद गरेका व्यक्तिहरु अभिताम्भ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल वंशल, सरिता मानन्धर, नीतु गुरुङ, प्रविण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठले गुरुङबाट बालुवाटारमा जग्गा किनेको बयान दिएका छन्।

अख्तियारलाई दिएको बयानमा गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा बालुवाटारमा ४ र ५ कित्ता जग्गाहरु विभिन्न व्यक्तिबाट खरिद गरेको बताएका छन्। उनले केही कित्ता जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा मन्त्रिपरिषदको निर्णयबाट सट्टा भर्नाबाट आएको पनि बयानमा उल्लेख गरेका छन्।