लण्डन । कोरोना भाइरसको संक्रमणमा परेकी बेलायती नायिका ओल्गा कुरिलेन्को निको भएकी छन्। संक्रमण पत्ता लागेलगत्तै आइसोलेशनमा बसेकी उनी प्यारासिटामोलमात्र खाएर सन्चो भएकी हुन्।
कोरोना भाइरसको शंका लागे लगत्तै अस्पताल गएको र चिकित्सकले खानका लागि आफूलाई प्यारासिटामोलमात्र दिएको बताउँदै उनले त्यही खाएर र आइसोलेसनमा बसेर आफू निको भएको बताएकी छन्।
कोरोना भाइरसको त्रास विश्वभर बढिरहेका बेलामा उनले इन्स्टाग्राममा आफ्नो अनुभव बाँड्दै ज्यानमारा भाइरस भए पनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्दा अहिले सञ्चो हुँदै गएको बताएकी छन्।
मुखमा मास्क लगाएको तस्वीर राख्दै उनले लेखेकी छिन्‚ ‘म अहिले सञ्चो भइरहेको छु, मेरो ज्वरो हराइसक्यो। धैरैलाई लाग्ला अहिले म कहाँ छु भन्ने। म अहिले लण्डनमा छु।’
उनले शंका लागेपछि परिक्षण गर्दा परिक्षणको नतिजा पोजेटिभ देखिएको खुलाउँदै उनले उच्च ज्वरो भएकाले चिकित्सकले प्यारासिटामोल दिएको तर अन्य औषधी नदिएको बताएकी छन्।
उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफूले केही भिटामिन भने खाएको उल्लेख गर्दै भनेकी छिन्‚ ‘मैले भिटामिन खाँए तर त्यसले कोरोना भाइरसलाई रोक्दैन, रोग प्रतिरोधात्मक क्षमता भने बढाउँछ।’
उनले आफूले लिएको भिटामिनको सूची पनि खुलाएकी छन्। आइसोलेसनमा बस्दा उनले भिटामिन बी फाइभ, भिटामिन सी र भिटामिन ई खाएकी थिइन्।
उनले केही समयअघि झ्यालको तस्वीर राखेर‘ कोरोना भाइरस देखिएपछि आफैंलाई थुनेर राखेको’ लेखेकी थिइन्।
आफू अस्पतालमा नबस्नुको कारण खुलाउँदै उनले लेखिन्‚ ‘अस्पतालमा गम्भीर भइसकेका बिरामीहरु थिए, त्यसैले म अस्पतालमा बसिन। घरमा एक्लै बसेर आफैंले पनि उपचार गर्न सकिने भएपछि म फर्किएर र आफैंलाई थुनेर बसें।’