३१ बैशाख २०८१, सोमबार
Follow Us

मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु, श्रीमती घाइते

sarusaru
९ चैत्र २०७६, आईतवार ०६:५६

बनेपा : काभ्रेमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु,छोराको मृत्यु भएको छ। बनेपाबाट भक्क्तपुरतर्फ जाँदै गरेको बा५ख २३९० नम्बरको मिनीट्रकले काठमाडौंबाट धुलिखेल आउँदै गरेको बा५७प ७२८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ६ बजे बनेपा नगरपालिकाको भैसेपाटीमा ठक्कर दिएको हो।

मोटरसाइकल चालक उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ बर्षीय छोरा सुविनको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । घाइते श्रेष्ठ बाबु, छोराको बनेपाको शिरमेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।

मृतक मीनबहादुरकी श्रीमती सुनिता श्रेष्ठ घाइते छिन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मिनीट्रक र चालक रामेछाप खाडादेवी गाउँपालिका ७ का लक्ष्मिनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।
अन्नपूर्ण पोष्ट