२३ बैशाख २०८१, आईतवार
Follow Us

महाअभियानमा कांग्रेस महामन्त्री कोइराला पनि, फेरि उठाइँदै हिन्दूराष्ट्रको मुद्दा

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७३, बुधबार ०३:२३

काठमाडौं । संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् । हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको छ । विश्व हिन्दू महासंघको नेतृत्व पुनर्गठन भएको छ भने केशरबहादुर विष्ट, बालकृष्ण न्यौपानेलगायतले नेतृत्व गरेको समूह पनि हिन्दूराष्ट्रका लागि सक्रिय भएको छ ।
कांग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको ‘सनातन हिन्दूराष्ट्रका लागि महाअभियान’ले बुधबार काठमाडौंमा पार्टी निकटस्थ र शुभेच्छुकहरूको भेला बोलाएको छ । गत वर्ष संविधान जारी हुनुअघि नै सेलाएको खड्का नेतृत्वको महाअभियानले संविधान संशोधनको तयारी भइरहेका वेला दबाब दिन सक्रियता बढाएको हो । महाअभियानका नेता देवप्रकाश त्रिपाठीका अनुसार बुधबार बोलाइएको भेलाले हिन्दूराष्ट्र, गणतन्त्र, संघीयतालगायतबारे धारणा तय गर्ने छ ।
भेलामा कांग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा रहेको हिन्दूराष्ट्रका लागि नागरिक संघर्ष समितिमा आबद्धहरू पनि सहभागी हुनेछन् । ‘यसपटक हामीले संघीयता र गणतन्त्रका विषयमा पनि ठोस धारणा ल्याउँदै छौँ,’ त्रिपाठीले भने । महाअभियानले लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दूराष्ट्रका पक्षमा आफूलाई उभ्याएको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइराला पनि हिन्दूराष्ट्रका पक्षपाती हुन् ।
नेता खड्काको हिन्दूराष्ट्र अभियानमा अन्य केन्द्रीय सदस्यले पनि मुद्दामा समर्थन गर्ने खड्कानिकट नेताहरूको दाबी छ। उनले बोलाएको भेलामा वनमन्त्री शंकर भण्डारी, कांग्रेस नेताहरू तारानाथ रानाभाट, लक्ष्मण घिमिरेलगायत पनि सहभागी हुँदै छन् ।
– नयाँ पत्रिकाबाट