८ असार २०८१, शुक्रबार
Follow Us

राउटेका मुखमा मास्क

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७६, सोमबार ०७:३८

सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन् ।

कोभिड–१९को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरुले बताएका छन् । गुराँस गाउँपालिकाले नियमित जाँच गर्नाका साथै भाइरसका बारेमा जानकारी गराएपछि उनीहरु माक्स लगाउन तयार भए ।

राउटे समुदायको अहिले गाउँपालिकाले नियमित रुपमा स्वास्थ्यजाँच गर्दै आएको छ । उक्त समुदायमा १५१ सदस्य छन् । गाउँपालिकाले राउटे समुदायलाई मास्क प्रयोग गर्ने तरिका पनि सिकाएको थियो । गाउँपालिकाले राउटे समुदाय सबैको ज्वरो नाप्नाका साथै मास्क पनि वितरण गरेको छ ।

कोरोना संक्रमण रोक्नका लागि राउटे बस्ती पनि अहिले लकडाउनमा परेको छ । राउटे समुदायका नागरिकलाई बस्तीभन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाह्य व्यक्तिलाई पनि राउटे बस्तीमा प्रवेश दिइएको छैन ।

राउटे महामुखिया महिनबहादुर शाहीले कोरोना नलागोस् भनेर मास्क लगाइएको बताउनुभयो । सिंगो समुदाय एउटै ठाउँमा बस्ने भएकाले पनि आफूहरुलाई मास्क र अन्य सरसफाइ आवश्यक रहेको उहाँको भनाइ थियो । ‘सरकारको निर्देशनअनुसार अहिले हामी बस्तीभन्दा बाहिर गएका छैनाँैं’, उहाँले भन्नुभयो, ‘हामीलाई मास्क, साबुन र अन्य स्वास्थ्य सामग्री आवश्यक छ ।’