३१ बैशाख २०८१, सोमबार
Follow Us

संविधान संशोधन विधेयक राष्ट्रघाती : एमाले

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७३, बिहीबार १०:२८

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको संबिधान संसोधन विधेयकप्रति असन्तुष्टि जनाउदै संसद बैठक अबरुद्ध गरेको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावमाथि छलफलका लागि डाकिएको संसद बैठकको शुरुमा सभामुखसँग विशेष समय लिएर बोल्दै एमाले सांसद बामदेव गौतमले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रहित विपरित भएको आरोप लगाए । उनले संसदलाई प्रदेशको सीमाङकन हेरफेरको अधिकार नभएको जिकिर गरे । गौतमले बोलेपछि एमाले सांसदहरु उभिएर विरोध जनाएका थिए । सभामुखले संसोधन प्रस्ताव कार्यसूचिमा नरहेको भन्दै एमाले सांसदलाई बैठक अवरुद्ध नगर्न आग्रह गरेकी थिइन । तर एमाले सांसदले उभिएर विरोध जारी राखेपछि सभामुखले संसद बैठक भोलिसम्मका लागि स्थगित गरेकी छन ।

कांग्रेस सांसद आपत्ति
नेपाली कांग्रेसका सांसदहरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएकोमा आपत्ति जनाएका छन । तराई मधेसवाट प्रतिनिधित्व गर्ने २७ जना सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै संसोधन विधेयक प्रक्रिया रोक्ने गरी संसद अवरुद्ध गर्नु र सडक आन्दोलन गर्नु समस्या समाधान भन्दा चर्काउने किसिमको भएको दाबी गरेका छन् । पछिल्लो गतिविधिले एमाले निर्वाचनको पक्षमा नभएको सन्देश दिएको उनीहरुको भनाइ छ । उनीहरुले मधेसी जनताको माग अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन विधेयक दर्ता गराएको भन्दै स्वागतसमेत गरेका छन् । विज्ञप्तिमा फर्मुल्ला मन्सुर, महेन्द्र यादव, किरण यादव, तेजुलाल चौधरी, रामचन्द्र चौधरी र गणेशकुमार मण्डल लगायतका सांसदले हस्ताक्षर गरेका छन् ।