१२ जेष्ठ २०८१, शनिबार
Follow Us

पत्रकारलाई सुरक्षा सामग्री

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७७, सोमबार ०६:३०

नेपाल परिवार दलले कोभिड–१९ बारे सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिने पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व तथा नागरिकलाई सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारको सुरक्षार्थ सो पार्टीले पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई विभिन्न सामग्री प्रदान गरेको हो ।

पत्रकार महासङ्घको कार्यालयमा दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले दुई हजार थान मास्क महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा अध्यक्ष ढकालले दिनरात नभनी अहोरात्र खटिने सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सही सूचना पाउन नसक्ने भन्दै सुरक्षार्थ सानो सहयोग गरेको बताउनुभयो ।

सो सामग्री ग्रहण गर्दै महासङ्घका अध्यक्ष आचार्यले उपलब्ध सामग्री फिल्डमा खटिने सबै क्रियाशील पत्रकारलाई उपलब्ध गराइने बताउनुभयो । “यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ, तर त्यहीँ सूचना जनतासम्म पु¥याउने पत्रकारलाई न सुरक्षा कवज, न प्रोत्साहन नै गरेको छ”, अध्यक्ष आचार्यले भन्नुभयो । परिवार दलले गत वैशाख २ गते कोभिड– १९ युनिफाइड कमाण्ड हस्पिटललाई पाँच हजार मास्क प्रदान गरेको थियो ।