२१ बैशाख २०८१, शुक्रबार
Follow Us

महामारी अन्त्यबाट हामी धेरै टाढा छौं:विश्व स्वास्थ्य संगठन

sarusaru
१६ बैशाख २०७७, मंगलवार ०६:००

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस महामारीको अन्त्यबाट अझै निकै टाढा रहेको बताएका छन्।

उनले कोरोना भाइरसका कारण सामान्य स्वास्थ्य सेवा पाउन मानिसहरुले समस्या भोगिरहेको बताए। यसमा विशेषगरी गरीब देशका बालबालिकाहरूले समयमै खोप ल‍गाउन नपाएको उनको भनाइ छ।

डब्लुएचओले केही धनी राष्ट्रमा संक्रमण स्थिर वा कम हुँदै गएको भएपनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण र सोका कारण हुने मृत्यु बढेकोमा चासो व्यक्त गरेको छ।

‘हाम्रो अघि निकै लामो बाटो छ र थुप्रै काम गर्न बाँकी नै छ’, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले सोमबार जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा भने।

‍चिनियाँ शहर वुहानमा गत वर्ष डिसेम्बरबाट देखा परेको कोरोना भाइरसबाट विश्वभरमा ३० लाख मानिस संक्रमित भएका छन्।

रोयटर्सको तथ्यांक अनुसार सोमबारसम्म संक्रमणका कारण २ लाख ५ हजार ९४८ जनाले ज्यान गुमाएका छन्।

महानिर्देशक टेड्रोसले सम्मेलनमा कोरोना भाइरस महामारीको प्रभाव बालबालिकाको खोप कार्यक्रममा परेको समस्या प्रति चिन्ता व्यक्त गरेका छन्।

‘बालबालिकाहरुलाई कोरोना भाइरसको संक्रमणबाट कम जोखिममा हुन सक्छन् तर खोपहरू मार्फत रोक्न सकिने अन्य रोगहरूको उच्च जोखिममा छन्’, टेड्रोसले भने।

उनले संसारभर पोलियो, दादुरा, हैजा, पहेंलो ज्वरो र मेनिन्जाइटिस जस्ता रोगहरू विरुद्ध नियमित खोपमा विलम्बले करिब १३ मिलियन जनसंख्या प्रभावित भएको बताए।

टेड्रोसले जीएवीआई विश्वव्यापी खोप गठबन्धनलाई उद्धृत गर्दै कोरोना भाइरस लकडाउन र सीमा प्रतिबन्धका कारण विभिन्न २१ देशहरुमा खोपहरुको अभाव देखापरेको बताए।

सेतोपाटी